जग्गा बिबादमा सौताको हत्या, चार जना पक्राउ, यसरी पुग्यो प्रहरी हत्यारासम्म
2023/07/31, 10:20
 
dd

लम्की चुहा नगरपालिका– ४ भल्काबाट डेढ महिना अघि बेपत्ता भएकी ३२ वर्षीया मञ्जु कार्की रावलको शव आईतवार मोहन्याल गाउँपालिका– ५ बाँसघारीमा फेला परेको छ । प्रहरीले उनको झुक्याएर अपहरण गरी हत्या भएको पुष्टि गरेको छ भने हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

लम्कीबाट २०८० जेठ २५ गते बेपत्ता भएकी ३२ वर्षीया रावलका माईती पक्षले प्रहरीले गम्भीरतापूर्वक खोजी नगरेको आरोप लगाएका थिए ।  आमा बेपत्ता भएपछि रावलका छोरा बिबेकले प्रहरीमा खोजी गरिपाउ भनी उजुरी गरेका थिए । छोरी हराएको जानकारी दिएपनि प्रहरीले गम्भीरतापूर्वक खोजी नगरेको सुर्खेतमा रहेका रावलका बुवा नर बहादुर कार्कीले गुनासो गरेका थिए ।
तर प्रहरीले भने रावलको खोजीका लागि अनुसन्धान जारी राखेको थियो ।

श्रीमान जनक रावलको मृत्युपछि अंशमुद्दा लडिरहेकी मञ्जुले अंश मुद्दा जितेपछि स्वर्गीय रावलकी जेठी पत्नीले किर्ते मुद्दा हालेकी थिईन । उक्त मुद्दामा चैत २५ गते थुनिएकी मञ्जु बैशाख २५ गते मुक्त भएकी थिईन । सोही मुद्दा मिलाई दिन्छु भन्दै अपरिचित व्यक्तिले फोन गरेपछि जेठ २५ बाट घरबाट निस्किएकी रावल त्यसै दिनदेखि सम्पर्क बिहीन भएकी थिईन । त्यसको डेढ महिनापछि मञ्जुको शव फेला परेको हो ।

यसरी पक्राउ परे हत्याराहरु
मृतक मञ्जु रावलको निजका श्रीमान जनक बहादुर रावलसंग २०७६ साल असार २३ गते सम्बन्ध बिच्छेद भएको थियो । एक वर्षपछि २०७७ साल चैत ४ गते रावलको मृत्यु भयो ।  पतिको मृत्युपछि पत्नी गोमा र मञ्जु रावल मिलेर सहमतीमा जिल्ला कैलाली लम्की चुहा नगरपालिका वडा न. ४ को वडा कार्यालयमा गई २०७७ चैत २२ गते मृत्यु दर्ता गरे ।

मृत्यु दर्ता पछि मृतक रावलको जेठी श्रीमती गोमा रावलले जिल्ला कैलाली लम्की चुहा नगरपालिका वडा न. ४ को वडा कार्यालयमा गई मञ्जु रावलले  श्रीमान जनकबहादुर रावलसंग मिति २०७६ असार २३ गते सम्बन्ध विच्छेद भई सकेको र निजले झुट्टा विबरण पेश गरी मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा आफ्नो समेत नाम राखि मृत्यु दर्ता गरेको हुँदा श्रीमतीको महलमा आफ्नो नाम मात्र राखी मञ्जु रावलको नाम हटाई पाउँ भनी सोही वडा कार्यालयमा दिईन । र, २०७९ पुष २९ गते लम्की चुहा नगरपालिकाबाट निर्णय गराई जिल्ला प्रशासन कार्यालय कैलालीलाई पति रावलको मृत्यु दर्ता प्रमाणपत्र रद्दको पत्र लेख्न लगाईन ।

जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीले २०७९ फागुन १८ गते मृत्यु अगाडी नै सम्बन्ध बिच्छेद भई सकेको हुँदा मञ्जु रावलले झुट्टा विबरण पेश गरी मृत्यु दर्ता गराएको ठहर गर्दै मञ्जुलाई राष्ट्रिय परिचय पत्र तथा पंजिकरण ऐन अनुसार कारबाही गर्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्राचार गर्यो ।

जिल्ला प्रहरी कार्यालयले त्यस लगत्तै ईलाका प्रहरी कार्यालय लम्की कैलालीलाई पत्राचार गर्यो । र सोही आधारमा २०७९ फागुन २५ गते झुट्टा विबरण पेश गरी मृत्यु दर्ता गरेको कसुरमा  मञ्जुमाथि मुद्दा दर्ता ग¥यो । प्रहरीले सोही मुद्दामा  एक दिनपछि मञ्जुलाई घरबाटै पक्राउ ग¥यो ।

२२ दिनको हिरासतपछि मञ्जु चैत १७ गत कैलाली जिल्ला अदालतको आदेशमा २० हजार धरौटीमा तारेखमा रिहा भईन । त्यसको ११ दिनपछि चैत २८ गते मञ्जुले लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बस्ने सौता गोमा उनकी छोरी बर्षा र भतिजा भरत रावल समेतले जग्गाको विषयलाई लिएर ज्यान मार्ने धम्की दिएको भन्दै आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदनमा दिईन ।

त्यसको भोलिपल्ट चैत २९ गते ईलाका प्रहरी कार्यालय लम्कीले गोमा र मञ्जुलाई बोलाएर छलफल ग¥यो । त्यसको एकमहिनापछि मञ्जुका छोरा बिबेकले जेठ २५ गते वकिललाई भेट्न जान भनेर घरबाट गएकी आमा सम्पर्क बिहीन भएको भन्दै असार १ गते खोजी गरी पाँउ भनी प्रहरीमा निवेदन दिए ।

हराएकै साँझबाट मञ्जुको मोबाईल अफ भयो । ईलाका प्रहरी कार्यालय लम्की कैलालीले सोही निवेनका आधारमा मञ्जुको हुलिया परीपत्र जारी ग¥यो । त्यो संगै प्रहरीले कल डिटेल लिई अनुसन्धान शुरु ग¥यो । कल डिटेल हेर्दा मञ्जले प्रयोग गर्ने मोबाईल नम्बर र सरिता रावलले प्रयोग गर्ने मोवाईल नम्बर एउटै लोकेशनमा प्रयोग भएको प्रहरीले पत्ता लगायो । सरिताको मोवाईलबाट मञ्जुको मोवाईलमा दुई पटक सम्पर्क भएको अनुसन्धानका क्रममा खुल्यो । र, अन्तिममा दुबै जनाको मोवाईल कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा अफ भएको पाईयो ।

२०८० असार १३ गते मन्जुका भाई सुरेन्द्र कार्कीले कैलाली लम्कीचुहा नगरपालिका वडा न. ४ भल्का बस्ने ४० वर्षीय गोमा रावल, सोही ठाँउ बस्ने २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोली बस्ने ३७ वर्षीया सरिता रावलले दिदी मञ्जुलाई बेपत्ता पारेको भन्दै  शिर्षकमा किटानी जाहेरी दिए । गोमा त्यतिबेला भारतमा बस्दै आएकी थिईन । असार २५ गते गोमा डोटी दिपायल सिलगढी नगरपालिका वडा न. ४ राजपुरस्थित उच्च अदालतमा आएको जानकारी पायो । प्रहरीले गोमालाई राजपुरबाट पक्राउ ग¥यो ।

प्रहरीले बेपत्ता घट्नामा मुछिएकी बर्षा रावल साउन ४ गते कैलालीको धनगढी उप–महानगरपालिका वडा न. १ बजारबाट पक्राउ ग¥यो । सोही दिन त्रिनगर भन्सारबाट अर्का आरोपित भरत पनि पक्राउ परे । त्यसको आठ दिनपछि साउन १२ गते त्रिनगर भन्सारबाट चौथौ आरोपित सरिता पक्राउ परिन । भरत र सरिता भाग्ने क्रममा भन्सारबाट पक्राउ परेका हुन् ।

प्रहरीले सरितासंगको बयान र उनले देखाएको स्थानका आधारमा आईतवार दिउसो १५ः३० बजे मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेती खोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरीएर रहेको हड्डी कंकालहरु टुक्रा–टुक्रा फेला परेको, सोही हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवाल फेला प¥यो । मञ्जुका छोरा बिवेकले घट्नास्थलमा फेला परेको कुर्ता शुरुवाल आमा मञ्जुको भएको सनाखत गरेपछि घट्नास्थलमा फेला परेको शव मञ्जुको भएको पुष्टि भयो । र, पक्राउ परेकाहरुको बयानका आधारमा मञ्जुको हत्या भएको खुलासा भयो ।

गोमाले किन गरिन मञ्जुको हत्या ?

प्रहरीले पक्राउ परेकी गोमा लगायतका अभियुक्तहरु सित गरेको सोधपुछका आधारमा जग्गाको विबादमा मञ्जुको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार पति जनक बहादुर रावलको मृत्युपछि दुबै सौताबीच जग्गा बिबाद शुरु भयो । रावलकी जेठी पत्नी गोमा र कान्छी पत्नी मञ्जु थिईन । मञ्जुको नाममा जग्गा हडप्न थुप्रै दाउ गरेकी गोमाले अन्तिममा गोमाले छोरी बर्षा रावल र निजको भतिजा भरत रावलसंग मिलेर हत्या गर्ने योजना बनाए ।

र उनीहरुले मञ्जुलाई झुक्याएर घरबाट बोलाए । घरबाट बोलाउन उनीहरुले पुरानो मुद्दा मिलाई दिन वकिल भेटाई दिने भनेर बोलाएका थिए । झुक्याएर मञ्जुलाई बोलाउन सफल भएका उनीहरु मिलेर मञ्जुको हत्या गरे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जग्गा बिबादमा मञ्जुको हत्या भएको र हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परेको बताए । उनले उक्त घट्नाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।