प्रेमी र प्रेमीकाले सँगै नहरमा हाम फाले, प्रेमीकाको उद्धार प्रेमी वेपत्ता 
2020/07/03, 4:57
 
death

कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेका छन । शुक्रबार बिहान ११ बजेतिर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीमा युवायुवतीले नहरमा हाम फालेका हुन । भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका २३ वर्षीया राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमासँगै हाम फालेका हुन् ।

स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्धार गरिए पनि युवक भने भेटिएका छैनन् ।सोही नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेको बताए । ‘पानीमा टाउको मात्रै देखिएको थियो । ‘उनले भने, ‘मैले उनलाई निकाले, पेटमा पानी भरिएर वेहोस भएकी युवतीको १० ÷१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताईन् तर खोज्दैछौँ अहिले सम्म भेटिएका छैनन् ।

युवतीको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।  उनीहरु दुवै जनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ ।  भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले नहरको पुलमा बसेका युवायुवतीले एक्कासीसंगै हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनले वेपत्ता युवकको खोजी कार्य भइरहेको जानकारी दिए ।

कुँवरका अनुसार युवक नेपाली सेना र युवती  ओभरसेर अध्ययन गर्दै आएका थिईन । दुवै जनाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । कञ्चनपुर प्रहरीले वेपत्ता युवकको खोजी कार्य भइरहेको जनाएको छ भने घटनाको अनुसन्धान जारी छ ।