‘कन्ट्याक्ट किलर’लाई सुपारी दिएर सौताको हत्या
2023/07/31, 1:09
 
ss

कैलालीको लम्की चुहा नगरपालिका–४ भल्काकी गोमा रावलले ‘कन्ट्याक्ट किलर’लाई सुपारी दिएर सौताको हत्या गरेको खुलासा भएको छ । गोमाले पति जनक बहादुर रावलको मृत्युपछि सौता मञ्जुको नाममा रहेको जग्गा कब्जा गर्ने प्रयास असफल भएपछि ‘कन्ट्याक्ट किलर’लाई सुपारी दिएर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

भारतमा बसेर सौता मञ्जुको हत्या गर्ने योजना बनाएकी गोमाले त्यसका लागि ‘कन्ट्याक्ट किलर’लाई सुपारी दिएको खुुलेको छ ।
मञ्जुको हत्याका लागि गोमाले ‘कन्ट्याक्ट किलर’ अछामको पञ्चदेवल बिनायक नगरपालिका ६ तोलीका २७ वर्षीय जमानसिंह रावल भन्ने जब्बर रावल९चुईके०, ३७ वर्षीय सरिता रावललाई पाँच लाख रुपैया सुपारी दिएको खुलेको छ ।

हत्यापछि पक्राउ परेकी सरिताले दिएको बयानका आधारमा मञ्जुको शव फेला परेको थियो । सरिताले पाँच लाख रुपैया सुपारी दिने भनिएपनि आफूहरुले ४० हजार रुपैया मात्र पाएको बयानका क्रममा प्रहरीलाई बताएकी छन् । २०८० जेठ २५ गते वकिललाई भेट्न भल्कास्थित घरबाट निस्किएकी मञ्जु नफर्किएपछि असार १ गते आमाको खोजी गरी पाउ भनी उनका छोरा बिबेकले प्रहरीमा निवेदन दिएका थिए ।

मञ्जुको शव आईतवार कैलालीको मोहन्याल गाँउपालिका( ५ बाँसघारीमा टुक्रा टुक्रा गरिएको अवस्थामा फेला परेको थियो ।
गोमाले आफूमाथि कसैले शंका नगर्ने मनशायले भारतबाटै मञ्जुको हत्याको योजना बनाएपनि अन्ततः सबैभन्दा पहिले उनी प्रहरी फन्दामा परिन । प्रहरीले गोमासंगै उनकी छोरी लम्की चुहा नगरपालिकाका भरत रावल र अछामकी सरिता रावललाई पक्राउ गरिसकेको छ । चुईके भनिने जब्बर भने फरार छन् । उनी भारतमा रहेको बताईएको छ ।

हत्यामा संलग्न व्यक्तिहरुसंग प्रहरीले सोधपुछका क्रममा कन्ट्रयाक्ट किलरहरुको समूहले किर्ते मुद्दा मिलाई दिने भन्दै झुक्याएर बोलाई मञ्जुको हत्या गरेको खुलेको हो ।