सामाजिक कार्यमा सक्रिय ‘धनगढी ग्यालरी’ले सेती प्रादेशिक अस्पतालमा उपचाररत डोटीका योगेन्द्र बहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ। डोटीको पूर्वीचौकी घर भएका खड्को उपचारमा आर्थिक अभाव भएपछि सहयोग स्वरुप ग्यालरीले सात हजार पाँच सय १० रुपैया प्रदान गरिएको जनाएको छ। २०६९ सालमा बस दुर्घटनामा परेर स्पाईनल ईञ्जुरी भएर कम्मरमुनि भाग नचल्ने भएका खड्का प्रादेशिक अस्पतालको शैयामा आर्थिक अभावमा मृत्युसँग लडिरहेका छन्।
धनगढी ग्यालरीका प्रबन्धक चक्र खडायतले खड्काको उपचारमा सहज होस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको बताए। धनगढी ग्यालरी विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ। अहिले कञ्चनपुर बस्दै आएका खड्काको उपचारमा आर्थिक अभावले समस्या भएपछि परिवारले थप सहयोगको याचना गरेका छन्।
गत जेठमा लडेर गम्भीर बिरामी भएका खड्को एक्कासी अण्डकोष सुनिएपछि उनको स्वास्थ्य अवस्था बिग्रीदै गएको थियो। स्थानियबासीले एक हजार चार सय चन्दा उठाई उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाएका थिए। उनकी श्रीमती विष्णाले दैनिक हात मुख जोर्न समेत खर्च नहुँदा उपचारमा समस्या भएको बताए। उनले श्रीमानको उपचारका लागि सहयोगको याचना गर्दै आएकी छन्।