कैलालीका एक नेताले मजदुरको २५ लाख रुपैयाँ खाएर युरोप भागेपछि.....
2023/08/01, 9:49
 
ss

कैलालीका एक नेता मजदुरको २५ लाख रुपैयाँ खाएर युरोप भागेको आरोप लागेको छ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ, कैलालीका जिल्ला सदस्य विमल भनिने गणेश चन्दले करिब १५० जना मजदुरको २५ लाख रुपैयाँभन्दा बढी रकम लिएर विदेश भागेको आरोप लागेको छ।

पीडित मजदुरहरुले काम गरेको पाउनुपर्ने दैनिक ज्याला बापतको करिब २५ लाख रुपैयाँ भुक्तानी नदिइ विदेश भागेको पीडितहरुको भनाइ छ। उनीहरुले विश्व बैंकको ऋण लगानीमा कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको ‘रानी जमरा कुरिया सिँचाइ आयोजना’ अन्तर्गत पथरैया नदीमा भइरहेको तटबन्ध निर्माणका कामको पैसा पाउनुपर्ने हो। तर उनीहरुको पैसा दिएका चन्दले दिएका छैनन्।

परिवारिक स्रोतका अनुसार चन्द साउन १३ गते युरोप गएकोे जनाएको छ। चन्दले ठेकेदार कम्पनी कालिका कन्ट्रक्सनबाट उक्त तटबन्ध निर्माणका लागि पेटी ठेक्का लिएका थिए। असार मसान्तभित्रै कालिका कन्ट्रक्सनबाट बिल भुक्तान गरिसकेका चन्दबाट ज्याला बापतको रकम नपाएपछि मजदुरहरुले असार ३१ गते इलाका प्रशासन कार्यालय टीकापुरमा उजुरी दिएका थिए। प्रशासन कार्यालयले उक्त उजुरी इलाका प्रहरी कार्यालयलाई पठाएको थियो। जस अनुसार साउन ३ गते प्रहरीको रोहबरमा ठेकेदार र मजदुरबीच छलफल भएको थियो।

यस क्रममा १५ साउनभित्र ज्याला बापतको सम्पूर्ण भुक्तान गर्ने कागज प्रहरीले ठेकेदारलाई गराएको थियो। तर ठेकेदार चन्द यस बीचमै केही वर्ष नेपाल नफर्किने गरी १३ गते नै युरोप गएको उनका परिवारजनले बताएका हुन्। मजदुरहरुलाई चन्दले तिर्नु पर्ने रकम २५ लाख भएको अनुमान गरे पनि त्यो बाहेक ढुंगा, गिट्टीलगायत विभिन्न कारोबारमा चन्दको समूहले गएको ३ महिनामा करिब १ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ। काम गरेको ज्याला नपाउँदा निकै समस्यामा परेको मजदुरहरुको दुखेसो छ। पीडित एलिजा चौधरीले आफूसहितले चैतदेखि असारसम्म तटबन्ध निर्माणको काम गरेको बताइन् । यस बीचमा केही पैसा दिए पनि अझै आफ्नो १८ हजार रुपैयाँ पाउन बाँकी रहेको उनले बताइन्।

अर्का पीडित लक्ष्मी पुनले आफू, आफ्नो श्रीमान् र छोराको गरी ४१ हजार रुपैयाँ पाउन बाँकी रहेको सुनाइन्। पैसा नपाउँदा औषधोपचार गर्न समेत समस्या भएको उनको भनाइ छ ।पीडित पुनले ‘साउन ३ गते दुई पक्षबीच छलफल भएको र हामीले लिखित कागजात तयार गरिदिन भनेको बताइन् । तर प्रहरीले त्यतिले भइहाल्छ भनेर टारिदियो । प्रहरीले त्यही बेला कडाइ गरिदिएको भए ऊ भाग्न पाउने थिएन । यसमा प्रहरीको लापरबाही देखिएको उनले बताइन्। कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले मजदुरले पाउनुपर्ने ज्याला पाउनुपर्ने बताउँदै घटनाबारे तत्काल बुझेर असुलउपर गर्नतर्फ कदम चाल्ने बताए। ठेकेदार चन्द भागे पनि उसका घर परिवार तथा आफन्तमार्फत भए पनि ज्याला भुक्तानी गराउने उनको भनाइ रहेको छ।