मन्त्रिमण्डल विस्तारसँगै प्रदेश सरकारले पूर्णता पायो
2023/08/03, 11:06
 
ss

दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नियुक्त भएको करिब छ महिनापछि नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराएर सरकारलाई पूर्णता दिएका हुन् । नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली काँग्रेसबाट एक मन्त्रीले सपथ लिएका हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बुधबार बेलुकी पद तथा गोपनीयताको सपथ लिए । नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाली काँग्रेसका शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रीको सपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

त्यस्तै नागरिक उन्मुक्तिका कैलाश चौधरीले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको सपथ लिए । उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बुधबारनै कार्यभार सम्हालेका छन् । केन्द्रमा गठबन्धनका शीर्ष नेताहरु बीच मंगलबार सहमति भएपछि नागरिक उन्मुक्ति प्रदेश सरकारमा सहभागी भएको हो ।

यसअघि दुई मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको नागरिक उन्मुक्तिलाई उपसभामुख र दुई वटा विषयगत समितिको सभापति दिने सहमति छ । यद्यपि उपसभामुख एमालेका छन् । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखेका थिए । करिब सात महिनापछि यो मन्त्रालयले मन्त्री पाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गत महिनादेखि मन्त्रीविहीन थियो । गत असार ६ गते बझाङमा भएको गाडी दुर्घटनामा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको थियो । मन्त्रीको निधन भएपछि रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री शाहले काँग्रेसकै भट्टलाई नियुक्त गरेका हुन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनबीच मन्त्रालय भागवण्डा नमिल्दा उनले यसअघि सरकारलाई पूर्णता दिन सकेका थिएनन् । सात सदस्यीय मन्त्रिमण्डलमा काँग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री छन् ।

नागरिक उन्मुक्तिभित्र असन्तुष्टि

सुदूरपश्चिम प्रदेशमा मन्त्री नियुक्तिको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी ९नाउपा० भित्र चरम असन्तुष्टि देखिएको छ । नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले रामेश्वर र कैलाशलाई मन्त्री बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो ।

संसदीय दलको निर्णयमा प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्ट व्यक्त गरेका हुन् । ‘यार गद्दार निकला, एक राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौं’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनी मन्त्रीका आकांक्षी थिए ।

मन्त्री छनोटमा मनोमानी भएको भन्दै नागरिक उन्मुक्तिकै कतिपय नेताहरु असन्तुष्ट छन् । आन्तरिक विवादका कारण गत साता नागरिक उन्मुक्तिबाट मन्त्रीको नियुक्ति र सपथ रोकिएको थियो । नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्रीको सपथको तयारी भए पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई पत्र पठाएर सरकारमा सहभागी नहुने जनाएपछि सपथ रोकिएको थियो ।

पार्टीले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी हेरफेर गरेको थियो । बुधवार बसेको नाउपा संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई पठाउने निर्णय गरेको थियो । जसअनुसार उनीहरुले सपथ लिएका हुन् ।