सुदूरपश्चिममा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा, साढे छ करोड राजस्व
2023/08/04, 12:35
 
ss

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९र०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन्।

एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा छ करोड ४३ लाख, ७० हजार राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन्। मोटरकसाइकलबाट दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ। एक वर्षको अवधिमा २६ हजार तीन सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार चार सय ६१ ट्र्याक्टर, पाँच हजार तीन सय ३७ बस र आठ हजार सात सय ७९ अन्य सवारीसाधन कारबाहीमा परेका छन्।

सवारीसाधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय ४८ सवारीसाधन बढी कारबाहीमा परेका देखिन्छन्। यसबाट एक करोड, एक लाख ७६ हजार राजस्व संकलन भएको छ।अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा ९७ हजार एक सय सात सवारीसाधन कारबाहीमा पर्दा पाँच करोड, ४१ लाख, ९४ हजार राजस्व संकलन भएको थियो।यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा तीन हजार छ सय ४६ जनालाई कारबाही भएको छ। उक्त कारबाहीबाट ३६ लाख ४७ हजार राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षमा २०७८र७९ मा एक हजार छ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार राजस्व संकलन भएको थियो।गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ५२ सवारी दुर्घटना भएका छन्। दुई सय ५२ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए।ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारीसाधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।