खोलाले सिंचाईको कुँलो भत्काएपछि जन श्रमदानमा जुटे कोलमुडाबासी
2023/08/04, 8:02
 
dd

खोलाले कुँलो भत्काए पछि गोदावरी नगरपालिका वडा न. १२ कोलमुडाका स्थानियबासिन्दा जन श्रमदानमा जुटेका छन् । वर्षायाममा गनगडे खोलामा आएको बाढीको भेलले सिंचाईको कुलो भत्काएपछि स्थानियबासीहरु श्रम दानमा जुटेका हुन् । वर्षायाममा वर्षा शुरु भएयता खोलाले समय समयमा सिंचाई कुलो भत्काउँदै आएको छ ।

जनश्रमदानमा महिला पुरुष गरी १०० भन्दा बढी स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो । स्थानियले ४ घण्टाको समय लगाई अस्थायी कुलो मर्मत गरेका छन् । सिंचाईका लागि खोलाबाट ल्याएको पानीले २०० घरधुरी लाभान्वित छन् । तर रोपाईका बेला वर्षायाममा खोलामा आएको बाढीले कुलो भत्काएपछि किसानहरुलाई खेतीपाती गर्न समस्या परेको स्थानिय नेत्र प्रसाद भण्डारीले बताए ।

सिंचाईका लागि कुलो बनाउँदा धेरै पैसा लाग्ने भएका कारण यस दिगो समस्या समाधान नहुने भण्डारी बताउँछन् । यस कार्यका लागि पालिका, प्रदेश सरकार, संघीय सरकारबाट हामी स्थानियबासीहरुले सहयोगको अपेक्षा गरेको बताए । उनले सिंचाई डिभिजन कार्यालयलाई बजेट मागका लागि कोलमुडाबासीहरुले ज्ञापन पत्र समेत बुझाएको जानकारी दिए ।