कञ्चनपुरका दुई वटा कल्भर्टको विषय चर्चामा, सडक नभएकै ठाउँमा बनाएर बिवाद
2023/08/04, 8:07
 
dd

कञ्चनपुरमा दुई वटा कल्भर्टको विषयले अहिले चर्चा निकै पाइरहेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ जहरे खोला र वडा न. ७ कुत्ताहा खोलामा निर्माण गरिएका दुई कल्भर्ट निर्माणको बिषय विवादीत बनेको हो।   तत्कालिन कृष्णपुर नगर सरकारले लाखौं खर्च गरेर निर्माण गरेपनि प्रयोगमा नआउँदा सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको हो । तत्कालिन नेकपा एमाले सरकारको समयमा विनियोजित गरिएका र निर्माण गरिएका दुवै कल्भर्टहरु हालसम्म प्रयोगमा नआउँदा कार्यकर्ता पाल्नकै लागि बजेट विनियोजन गरिएको आरोप छ । आर्थिक वर्ष २०७७र०७८ मा ढाई लाख र २०७८/०७९ मा ५ लाख गरी साढे ७ लाखको लगानीमा निर्माण गरिएको वडा नं ४ जहरे खोलाको कल्भर्ट हालसम्म प्रयोगमा आउन सकेको छैन।

उक्त रकममा खोलाको केही भागमा बाँध र कल्भर्ट निर्माण गरिएको भएपनि बाँधको आधा भाग बगिसकेको छ भने कल्भर्ट पनि प्रयोगमा आउन सकेको छैन । स्थानीय तारा बोहराले कल्भर्ट निर्माण गरिएको स्थान वरपर सडक नखोलिदा कल्भर्ट प्रयोग विहिन बनेको बताइन् ।उनले सुरुमा सडक खोलेर त्यसपश्चात आवश्यकता अनुसार कल्भर्ट निर्माण गरिदा उपयुक्त हुने भएपनि त्यसो नगरिएको बताइन्। तत्कालिन जनप्रतिनिधिले सडक नै नभएको ठाउँमा कल्भर्ट निर्माण गर्दा अहिले समस्या आएको उनले भनाइ छ ।

‘पुल निर्माण हुनु सकारात्मक कुरा भएपनि प्रयोगमा आउने गरी निर्माण हुनुपर्छ’ उनले भनिन् ‘खोला वारीपारी सडक निर्माण नगरीकनै कल्भर्ट निर्माण गरिदाँ अहिले त्यो कल्भर्ट काम न काजको भएको छ ।’ उनले आफुहरुले पहिला सडक निर्माण गर्नुपर्ने माग राखेपनि सुनुवाई नभएको बताइन । स्थानीयहरु खोला पार गर्नका लागि नजिकै रहेको नहर प्रयोग गर्दै आईरहेका छन । यस्तैगरी वडा नं ७ को कुत्ताहा खोलामा निर्माण गरिएको कल्भर्ट पनि प्रयोगमा आउन सकेको छैन । उक्त खोलामा निर्माण गरिएको कल्भर्टले वडा नं ८ र ७ लाई जोडेको भएपनि मानविय बस्ती नभएको ठाउँमा कल्भर्ट हालिदा बजेटको दुरुपयोग भएको स्थानियले आरोप लगाएका छन । स्थानीय मोहन सिँह धामीले तत्कालिन सरकारले कार्यकर्ता पोस्नकै लागि उक्त ठाउँमा कल्भर्ट हालेको आरोप लगाए ।

उनले उक्त ठाउँमा कल्भर्ट नै आवश्यक नभएपनि कसैलाई जानकारी नै नदिई एक जनाले भनेको आधारमा बजेट विनियोजीत गरिएको बताए । ‘त्यो ठाउँमा कल्भर्ट आवश्यक नै छैन, त्यो सब बजेट पचाउने मेसो हो’ उनले भने ‘एक जना एमालेका कार्यकर्ताले भनेको भरमा बजेट दिईएको छ, तर ति मान्छेहरुले नै कल्भर्ट पारीपट्टिको बाटोका लागि जमिन छोडेका छैनन ।’ उनले कल्भर्ट निर्माण गरिएपनि त्यसको वारी र पारी सडक नखोलिएको बताए। स्थानीय पदम कुँवरले सडकको सुनिश्चितता नभई कल्भर्ट निर्माण गरिदा विवाद भएको बताए । उनले सडक निर्माण गरेर मात्रै कल्भर्ट निर्माण गरिनुपर्ने भन्दै स्थानीयले बिरोध गरेपनि सुनुवाई नभएको बताए।

कल्भर्ट निर्माण गरेको २ वर्ष वितिसकेपनि सडकको सुनिश्चितता नहुँदा कल्भर्ट प्रयोगमा आउन नसकेको उनको भनाई छ । उक्त खोला पारी २ वटा घरहरु मात्रै छन । एउटा घर पनि हाल आएर निर्माण गरिएको छ । तत्कालिन जनप्रतिनिधिहरुले हचुवाका भरमा योजना हालेको भन्दै हालका जनप्रतिनिधिहरु भने आक्रोशित भएका छन । वडा नं। ४ का वडाध्यक्ष धर्मबहादुर सिँहले तत्कालिन जनप्रतिनिधिहरुले हचुवाका तालमा योजना हाल्दा कल्भर्ट सञ्चालनमा आउन नसकेको भन्दै आक्रोस पोखे । ‘सडक नभएरै कल्भर्ट निर्माण गरिएको छ । अनि कसरी सञ्चालनमा आउँछ’ उनले भने ‘पहिला सडक खोलेर अनि कल्भर्ट निर्माण गरिएको भए पो हुन्थ्यो।’ कल्भर्ट निर्माण गरिएको एकातिर व्यक्तिगत जमिन छ भने अर्कोतिर खोल्सो छ । वडाध्यक्ष सिँहले वडाकै २र३ वटा ठाउँहरुमा त्यस्तै किसिमका योजनाहरु हालिएको बताए ।

यस्तै वडा नं।७ का वडाध्यक्ष घुम्मन रानाले हचुवाको भरमा औचित्यहिन रुपमा ठुलो बजेट हालेर कल्र्भट निर्माण गरेको देखिएको बताए। उनले आवश्यकता बिनै सडक विस्तार नगरेरै कल्भर्ट निर्माण गरिदा अहिले विवादीत बनेको बताए । उनले आवश्यकता नै नभएको ठाउँमा कल्भर्ट निर्माण गरिदा बजेटको दुरुपयोग भएको बताए। यसैगरी नगरप्रमुख हेमराज ओझाले सडक नखोलेरै कल्भर्ट हालिदा समस्या भएको बताए । उनले वडा नं ७ मा २ वटा घरका लागि १५ लाख बराबरको कल्भर्ट निर्माण गरिएको बताए।उनले हचुवाको भरमा योजना हाल्दा बजेटको दुरुपयोग भएको बताए । ‘२ घरका लागि कल्भर्ट निर्माण भनेर १५ लाख ३ हजार भुक्तानी गरिएको छ’ उनले भने ‘आवश्यकता नै नभएको ठाउँमा अधुरो रुपमा कल्भर्ट हालिदा अहिले हामीलाई समस्या भएको छ ।’ उनले तत्कालिन एमाले सरकारको पालामा बनेका कल्भर्टका कारण वर्तमान सरकार बदनामित हुनुपरेको बताए ।

‘दुवै खोलामा हाम्रो पालामा कल्भर्ट बनेका होईनन’ उनले भने ‘एमाले नेतृत्वको अधिल्लो सरकारले यस्ता विवादित योजना बनाए, अहिले हामीले आलोचित हुनुपरेको छ ।’ मेयर ओझाले दुवै खोलामा निर्माण भएका पुल संचालनका लागि अहिलेको पालिका सरकार तयार रहेको बताए । उनले निश्चित लागत इष्टिमेट बनाएर प्रयोगमा आउने गरी दुवै स्थानका कल्भर्टहरुको निर्माणलाई पुर्णता दिईने बताए । यता तत्कालिन नगरप्रमुख कर्ण बहादुर हमालले भने स्थानीयहरुको मागको आधारमा योजनाहरु हालिएको बताए। उनले दुवै स्थानमा स्थानियहरुले माग गर्दा आवश्यक ठानेर कल्भर्ट निर्माण गरिएको बताए । ‘हामीलाई बदनाम गराउने प्रपञ्च बाहेक यो अरु केही होईन, ति दुवै ठाउँमा कल्भर्ट आवश्यक थियो’ उनले भने ‘जहरे खोलामा विगतदेखी कै आवतजावत गर्ने बाटो हुनाले वडाले कल्भर्ट हालेको हो भने कुत्ताहा खोलामा बगेर एक जनाको मृत्यु भएपश्चात आवश्यकता महसुस गरेर कल्भर्ट हालिएको हो ।’ उनले जहरे खोलामा हालिएको कल्भर्ट वडाकै बजेटमा भएपनि तत्कालिन नगरप्रमुखको बदनाम गराउने उद्देश्यले प्रचार गरिएको उनको भनाई छ।