मझगाउँ विमानस्थलको निर्माण कार्य सुस्त, डेढ वर्षमा २५ प्रतिशत मात्रै काम
2023/08/21, 2:42
 
मझगाउँ विमानस्थलको निर्माण कार्य सुस्त, डेढ वर्षमा २५ प्रतिशत मात्रै काम

कञ्चनपुर - कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण कार्य सुस्त देखीएको छ। तीन वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भए पनि कहिले जग्गाको भोगाधिकारको विवाद त कहिले निर्माण सामग्री अभावका कारण विमानस्थल निर्माण कार्य सुस्त देखीएको हो।

डेढ वर्षअघि निर्माण सुरु भएको कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण कार्य २५ प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ। अहिले विमानस्थलको काम झण्डै एक महिनादेखि रोकिएको र गतिलिन सकेको छैन् । बर्खामा मनिर्माण सामग्री ढुवानीका लागि समस्या भएको भन्दै काम रोकिएको हो । बर्खा रोकिएपछि मात्रै काम अगाडि बढ्ने मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अंकित शर्माले बताए ।

‘अहिले बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या भएकोले सोही काम चलिरहेको उनले बताए । बर्खा रोकिएपछि फेरि काम सुचारु हुने बताउँदै हालसम्म धावनमार्गको ९ सय मिटर सवबेस निर्माण भएको बताए। यसैगरी ९ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा विमानस्थल निर्माण भइरहेको हो ।

भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानीमा निर्माण कार्य सुरु गरिएको थियो । दुई वर्षअघि २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एण्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा केही विवाद भएको थियो ।

उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो । त्यसपछि मौखिक रुपमा काम सञ्चालन गर्न दिने तथा भोगाधिकारका विषयमा पनि प्रक्रिया अगाडि बढाउने सहमतिपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माण सुचारु भएको हो ।विमानस्थल सञ्चालनका लागि यस क्षेत्रका नागरिक संघ संस्थाहरुले दवाव दिँदै आएका थिए । कञ्चनपुर उद्योग बाणिज्य संघसँगै नागरिकहरुले नियमित रुपमा दवाव दिएपछि तीन तहको सरकारको लगानीमा ठेक्का प्रक्रिया अघि बढेको हो ।

निर्माण कम्पनीका इन्जिनियर जितेन्द्र यादवले मौखिक रुपमा सहमति भएको र निर्माणको काम पनि भइरहेको बताए ।अहिले बर्खाका कारण काम रोकिएको छ, १०/१५ दिनमा काम सुरु हुन्छ ।’ उनका अनुसार अहिले १५ सय २५ मिटर धावनमार्ग निर्माण गरिनेछ । त्यसका लागि रत्न वाटिका र सेनाको खेल मैदानको जमिनसम्म काम गर्नुपर्ने हुन्छ । २०३० देखि हवाई सेवा सुरु भएको मझगाउँ विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द हुनु अघिसम्म सुदूपश्चिमको पहाडी जिल्लातर्फ नियमित रुपमा उडान भइरहेको थियो । बन्द भएको २२ वर्षपछि स्तरोन्नतिको काम सुरु भएको हो ।