कञ्चनपुरका शिक्षक आन्दोलित, सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुँदा पढाई प्रभावित
2023/08/28, 11:54
 
dd

कञ्चनपुरको सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि कुटपिट भएको घटनालाई लिएर जिल्लाका सबै विद्यालय बन्द भएका छन्। भदौ ३ गते भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा लेखापाल जोशीमाथि कुटपिट भएको थियो।

त्यस क्रममा सोही विद्यालयका विद्यार्थी, अभिभावक र स्थानीय आन्दोलित भएका थिए। प्रहरीले लेखापाल जोशीलाई नियन्त्रणमा लिएकै अवस्थामा उक्त भिडले विद्यालय हाताभित्रै जोशीमाथि आक्रमण गरेको थियो। नेपाल शिक्षक महासंघले प्रहरीको नियन्त्रणमै जोशीमाथि कुटपिट भएको घटनाको उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान गर्नुपर्ने, जोशीलाई विद्यालय हाताभित्रबाट पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बित गरी कारबाही हुनुपर्ने, जोशीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्नु पर्ने लगायतका माग राखेको छ।

निर्घात कुटपिटबाट घाइते लेखापाल जोशीको अहिले धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।शिक्षक महासंघले आफुहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै कञ्चनपुरका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरू आइतबारदेखि अनिश्चितकालका लागि बन्द गराएको छ । आइतबार भीमदत्तका सबै शिक्षण संस्था बन्द गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालीन पठनपाठन बन्द गर्दै शिक्षकहरु थप आन्दोलीत बनेका छन् ।

माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गरिने जिल्लास्तरीय आन्दोलन परिचालन समितिले जनाएको छ। बन्दले विद्यार्थीको पढाई प्रभावित बनेको छ। भदौ ३ गते भीमदत्त नगरपालिका(१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा किटानी जाहेरीमा परेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जाहेरीमा परेका मनिष विष्ट र दीपक भण्डारीलाई पक्राउ गरिएको बताए। यसअघि किटानी जाहेरीमा नाम उल्लेख भएका नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको थियो।

जाहेरीमा परेका करन मल्ल र मनोज तिरुवा भने फरार रहेका छन्। लेखापाल जोशीको परिवारले दिएको किटानीका आधारमा कुटपिटमा संलग्न ७ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जिल्ला प्रहरी कार्यालयमा लेखापाल जोशीविरुद्ध पनि छात्राको परिवारले जाहेरी दिएको बताए । ती दुबै जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको उनले जानकारी दिएका छन्।