सुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग फेरी अवरुद्ध
2023/09/10, 12:59
 
ss

सुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग फेरी अवरुद्ध भएको छ। केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

शनिबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार शनिवार रातिदेखिको वर्षका कारण राजमार्ग माथिबाट पहिरो आएको छ। आइतवार बिहान वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन।

डडेलधुरा प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरु बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले बताएको छ।सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। वर्षा नरोकिएको हुँदा पहिरो हटाउन नसकिएको उनले बताए। तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत रोकिएको छ।