अव्यवस्थित उत्खननले खुटिया नदी आसपासका वस्तीहरु बाढीको उच्च जोखिममा (भिडियो सहित)
2020/07/04, 7:52
 
badi

विक्की ओझा, गोदावरी–अव्यवस्थित उत्खनन्ले खुटिया नदी आसपासका वस्तीहरु बाढीको उच्च जोखिममा परेका छन् । खोलाको किनारमा स–साना छाप्रो छन् । वर्षातको बाढीले खोलाको किनार विस्तारै बस्तीतिर कटान गर्न सुरु गरेपछि गोदावरी नगरपाकिला वडा नम्बर ८ र ९ का नदी किनारका वासिन्दाहरु त्रसित भएका छन् ।

खोलाको छेवैमा भएका केही घर अन्तै सारिएको छ भने, अरु घर परिवार पनि त्रासमा छन । वर्षाको बाढी कतिबेला आउने भन्दै रातभर जाग्राम बस्छन् खुटिया आसपासका वासिन्दाहरु । स्थानीय भानसिंह रावल भन्छन्—‘प्रत्येक वर्ष खोला यतै (बस्तीतिर) आउँछ । जाउँ भने कहाँ जाउँ घर छैन, जग्गा छैन के गर्ने ? वर्ष वर्षमा घर पर पर सार्दै जान्छौँ झन–झन खोला पनि यतै–यतै आउँछ ।’

वर्षौदेखिको समस्या सल्टाउन सरकारले कुनै चासो नदिएको गुनासो समेत उनीहरुको छ । प्रदेश सरकार, स्थानीय सरकार भएर पनि अहिलेसम्म कुनै थाहा नभएजस्तो गरेका छन । पटक–पटक गएर खोला किनारमा तटबन्ध गरिदिनुप¥यो भन्दा पनि कसैले सुनेका छैनन । खोला बस्तीको छेवैमा आउन थालेपछि उनीहरु डर र त्रासमा बसिरहेका छन् । अहिलेसम्म आफ्नो बस्तीलाई सबै राजनीतिक दलले समेत वेवास्ता गरेको उनीहरुको आरोप छ । निर्वाचनमा भोट फकाउन आउने तर, भोट पाएपछि फर्केर नहेर्ने अर्का स्थानीय शेरवहादुर ऐरले बताए । ‘नेताहरु पनि भोट फकाउने बेला दिन रात आउँछन् ।’ उनले भने ‘अघिपछि के छ ? कस्तो छ ? भनेर फर्केर आउँदैनन् । अहिलेसम्म कसैले पनि केही पहल गरेका छैनन्। ’

अझै पनि वर्षा भइरहेकाले बाढी आउने सम्भावना पनि उत्तिकै छ । नगरपालिकाले बस्ती जोखिममा रहेकाले संरक्षण गर्न उत्खनन्मा समेत प्रविधिको प्रयोगमा रोक लगाएको थियो । तर, बस्ती भने अझै पनि जोखिममै परेको छ । सरकारले र स्थानीयस्तरमा रहेका राजनीतिक दलले समेत यो बस्तीलाई खोलाबाट अन्यत्र उचित व्यवस्थापन गर्न पहल गरेका छैनन् । स्थानीय पवन भुजेलले भने, यसरी वर्षेनी आउने बाढीको त्रासमा रहेको वादी वस्तीलाई दीर्घकालीन रुपमा उचित बन्दोवस्त मिलाउन सके राहत पुग्ने देखिन्छ ।’