विवादित तत्कालीन वन निर्देशक भट्टको अडियो र भिडियो टेस्ट गरिदै
2023/09/17, 7:34
 
ss

सुदुरपश्चिमका उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट रकम असुली गर्ने गरेको बताएपछि विवादमा तानिएका कृष्णदत्त भट्टको छानबिन सकिएको छ।

सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले आफ्नो छानबिन सकाएर प्रतिवेदन बुझाएको छ। छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिका संयोजक मानबहादुर धामीले भट्टसँग सोधखोजसहितको अनुसन्धान र छानबिन गरेको समितिले भदौ १९ गते प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाएको बताए।

भट्टले आचरण र मर्यादाविपरीत काम गरेकोले आर्थिक अख्तियारीसहितको जिम्मेवारी रोकिनुपर्छ भनेर उपसमितिले सिफारिस गरेको बताए। भट्टले तथानाम बोलेको अडियोर भिडियोलाई पनि फरेन्सिक टेस्ट गरि सत्यतथ्य छानबिन गरेर कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालयलाई पत्र लेख्ने निर्णय सिफारिस गरेको धामीको भनाई छ। यसअघि भट्टले सोधपुछका क्रममा भने सो अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिएका थिए।

अब सो उपसमितिको निर्णयमा लेखा समितिले पुनर्विचार वा कार्यान्वयन गर्न बाकी रहेको जानकारी दिए। विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट रकम असुली गरेको भिडिओ सार्वजनिक भएका भट्टलाई अनुसन्धानका क्रममा मन्त्रालय तानेको थियो। केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका कार्यालयबाट पैसा उठाएको कुरा बक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो। भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा अहिले अख्तियारले समेत छानविन गरिरहेको जनाएको छ।

महेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टमाथि छानबिन थालेको जनाएको छ। भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम तोकेरै उठाएको बताएको भिडिओ सार्वजनिक भएपछि छानबिन अघि बढाइएको अख्तियारका प्रमुख आशमान तामाङले जानकारी दिए। खासगरी वन निर्देशनालयको तत्कालीन निर्देशक रहेकै बेला हेमराज विष्ट भ्रष्टाचार मुद्दामा मुछिएपछि भट्टले निमित्त वन निर्देशकको जिम्मेवारी पाएका थिए।

गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि विष्ट वन निर्देशकको जिम्मेवारीमा फर्किएका थिए। उनीभन्दा वरिष्ठ अधिकृत विष्टले अदालतबाट सफाइ पाएर पहिलेकै जिम्मेवारीमा फर्किएपछि पनि भट्टले निमित्त निर्देशक बन्ने चाहाना राखेका थिए। नेपाली कांग्रेस निकट मानिने भट्टको निमित्त निर्देशक बन्ने चाहाना पूूरा गर्न मुख्यमन्त्री कमलबहादुुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको जोडबलमा विष्टको मन्त्रालयमा सरुवा गरिएको थियो। विष्टको सरुवा भएपनि उनी अहिले वन निर्देशनालयको निर्देशककै रुपमा काम गरिरहेका छन्।