कैलाली र कञ्चनपुरका सिमानाका प्रयोग गरी दिनहुँ तस्करी, ३ करोड बढीको भन्सार सामान जफत
2023/09/18, 7:33
 
aa

भारत सँग सिमा जोडिएका कैलाली र कञ्चनपुरका बिभिन्न नाका प्रयोग गरी दिनहुँ तस्करी हुँदै आएको छ। भन्सार चोरी छली गरी भारत या तेस्रो मुलुकबाट अवैध रुपमा तस्करी गरेर सामान नेपाल भित्र्याउने गरिएको पाइएको छ।

अबैध सामान भित्रीन नदिन, भन्सार चोरी निकासी नियन्त्रण गर्न तथा राजश्व चुहावट रोक्न कैलाली कञ्चनपुरका सिमानाकामा प्रहरी सुरक्षा कर्मी तैनाथ गरिदै आएको छ। तर पनी अबैध नाका प्रयोग गरी तस्करहरुले चोरी निकासी गरीरहेका छन्। कैलाली र कञ्चनपुरका नाकामा प्रहरीले दिनहुँ जसो अबैध भन्सार छलीको सामान नियन्त्रणका लागी सबै क्षेत्रमा निगरानी बढाएपनी तस्करी रोकिन भने पाएको छैन्।

भारतीय कपडा, मोटर पार्टस्, हार्डवेयरका सामान, कुरमुरे, कुरकुरे, लेज, गुटखा, सुर्ती, कोल्ड ड्रिङ्स, चिनी, चकलेट, मिठाइ र किराना सामानहरूको तस्करी हुँदै आएका छन्। कैलालीको धनगढी, जुगेडा, कैलारी, भजनी, टीकापुरलगायत नाकाबाट पछिल्ला दिनहरुमा तस्करी उत्तिकै बढेको पाइएको छ। भारतसँग कैलालीको १०१ किलोमिटर सीमा छ। कैलाली र कञ्चनपुरको १३२ दशमलव ५ किलोमिटर खुला सीमाना भारतसँग जोडिएको छ। यो क्षेत्रमा दैनिक तस्करीको सामान बरामद हुने गरेको छ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले प्रदेशका बिभिन्न सिमानाका क्षेत्रमा अबैध सामान नियन्त्रण तथा तस्करी रोक्न प्रहरी निगरानी बढाएको जनाएको छ। गत आर्थिक वर्षमा मात्र प्रहरीले सुदूरपश्चिममा ३ करोड ५० लाख बढीको भन्सार छलीका सामान बरामद गरेको थियो। र सो अवधिमा तस्करीमा संलग्न कैलाली र कञ्चनपुरबाट ९० जनामात्रै पक्राउ गरेको थियो।

सिमानाका प्रयोग गरी तस्करीमा संलग्नहरु अबैध सामान छोडेरै फरार हुँदा प्रहरीले भने अधिकाँस संलग्न तस्करहरुलाई पक्राउ गर्न सकेकोे छैन्। त्यसपछि केवल बेवारिसे अवस्थाका सामान मात्रै बरामद हुने गरेका छन्। प्रहरीले हरेक दिन सिमानाकामा दैनिक हजार देखी लाखौँ मुल्य सम्मका उपभोग्य वस्तुदेखि लत्ताकपडा र हार्डवेयरका अबैध सामान मात्र बरामद गर्दै आएको छ । तर प्रदेश प्रहरी कार्यालय धनगढीले भने बिभिन्न सिमानाका क्षेत्रमा सुरक्षाकर्मी खटाई निगरानी गर्दै आएको बताएको छ।