कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले बताएका छन्। सोमबार बिहान दोधाराचाँदनीमा सुक्खा बन्दरगाह बन्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदुत श्रीवास्तले सो कुरा बताएका हुन्। उनले दोधाराचाँदनी नगरपालीकामा बन्ने सुक्खा बन्दरगाह समयमै बन्ने विश्वास व्यक्त गरेका छन्। उनले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने उल्लेख गरे।
स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री एवं नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यविधि बनिसकेको उल्लेख गर्दै काम शिघ्र हुने बताए। यस्तै नेपाल–भारत दुवै देशका व्यापार वृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको भनाई छ।
दोधाराचाँदनी नगरका मेयर किशोर लिम्बुले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भिर हुनुपर्ने जानकारी दिए। महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेका बेला बन्दरगाह निर्माण कार्य समेत शिघ्र गर्नुपर्नेमा उनको जोड थियो। सुक्खा बन्दरगाह निर्माण कार्य समयमै गर्नुपर्ने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भनाई छ।