गृहको अनुमतीपछि रामारोशनमा वर्ल्ड रेन्बो ग्यादरिङ हुदै, के हो रेन्बो फेमली ?
2023/09/22, 1:10
 
dd

गृह मन्त्रालयको आदेशपछि रामारोशन जाने बाटो खुला भएपछि ‘रेन्बो फेमिली अफ लिभिङ लाईट’ का सदस्यहरुको वर्ल्ड रेन्बो ग्यादरिङ एक सातापछि रामारोशनमा शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अबरोधपछि एक साता जिल्लाको सीमामा अलपत्र परेका ‘रेन्बो फेमिली अफ लिभिङ लाईट’ का सदस्यहरुलाई गृह मन्त्रालयको आदेशपछि राहत भएको हो । गृहको आदेशपछि उनीहरु रामारोशन ओईरिने क्रम शुरु भएको छ ।

सेप्टेम्बर १५ देखि अक्टोबर १० सम्म अछामको रामारोशनमा आयोजना गर्न लागिएको वर्ल्ड रेन्बो ग्यादरिङ नेपालमा सहभागी हुन संसारभरीबाट दुई सयभन्दा बढि देशका पाँच हजार भन्दा बढि रेन्बो फेमिलीका सदस्यहरु आउने अनुमान गरिएको   थियो ।

तर प्रशासनले रेन्बो फेमिलीका सदस्यहरुलाई रामारोशन जान रोक लगाएपछि विदेशबाट आउन टिकट काटेका आधा भन्दा बढि सदस्यले टिकट रद्द गरेको भोलेन्टर सुशान्त पौडेलले बताए । तर त्यसका बाबजुद पनि दुई हजारभन्दा बढि विदेशी रामारोशन पुगिरहेको पौडेलले जानकारी दिए । पौडेलका अनुसार अहिलेसम्म पाँच सय भन्दा बढि रेन्बो फेमिली सदस्य अछाम पुगिसकेका छन् ।

गत वर्ष टर्कीमा आयोजना भएको ‘रेन्बो फेमिली अफ लिभिङ लाईट’ का सदस्यहरुको वर्ल्ड रेन्बो ग्यादरिङ यस पटक अछामको रामारोशनमा गर्ने निर्णय गरिएको थियो । सोही निर्णयपछि संसारभरीका रेन्बो फेमिलीका सदस्यहरु अछाम जादै थिए । स्थानीय प्रशासनले उनीहरुलाई अनुमती नलिई आएको भन्दै झण्डै एक साता जिल्लाको सीमानामा रोकेको थियो ।
गृहको मन्त्रालयको अनुमतीपछि भने एक साता ढिलो वर्ल्ड रेन्बो ग्यादरिङ आयोजना हुन लागेको हो ।

यतिबेला संसारभरीबाट रेन्बो फेमिलीका सदस्यहरु भारत तथा नेपाल भएर अछामको रामारोशन पुगिरहेका छन् । स्थानीय प्रशासनको अबरोधपछि रेन्बो फेमिलीका थुप्रै सदस्यहरुले अन्तिम समयमा टिकट रद्द गरेको बताईएको छ । पछिल्लो केही दिनयता अमेरिका तथा युरोपका नियमित उडानबाट रेन्बो फेमिलीका सदस्यहरु काठमाण्डौं आईरहेका छन् । हरेक बिमानहरु रेन्बो फेमिलीका सदस्यहरुले भरिएका छन् । नेपाल आउन उनीहरुले टिकटको चर्को मूल्य तिरेको बताईएको छ ।

अछाम कसरी प¥यो उनीहरुको रोजाईमा ?

रेन्बो फेमिलीको पहिलो भेला १९७० अगष्ट २८ देखि सेप्टेम्बर ३ सम्म अमेरिकाको ओरेगन पोर्टल्याण्डमा भएको थियो । अमेरिकाबाट शुरु भएको रेन्बो फेमिली हाल संसारका दुई सयभन्दा बढि देशमा छन् ।  त्यसयता हरेक वर्ष वर्ल्ड रेन्बो ग्यादरिङ हुने गरेको छ । प्रत्येक पटक देश परिवर्तन गरी उनीहरु एक ठाँउमा जम्मा हुने गरी उत्सव मनाउने गरेका छन् ।

‘रेन्बो फेमिली अफ लिभिङ लाईट’ का नामबाट खोलिएको यो स्वयमसेवी संस्था हो । यसको सञ्जाल विश्वव्यापी रुपमा भएपनि यसको आधिकारिक कार्यालय भने सबै ठाँउमा छैन । नेपालमा पनि यसका भोलेन्टरहरु छन् । जसको पहलमा नेपालमा यस पटक वर्ल्ड रेन्बो ग्यादरिङ आयोजना गरिएको हो ।

त्यसका लागि  सुजन खनाल र सुशान्त पौडेलले स्काउटको काम गरेका थिए । रेन्बो फेमिली अफ लिभिङ लाईटका लागि काम गर्ने भोलेन्टरलाई स्काउट भन्ने गरिन्छ ।  स्काउटिङ मिसन अन्तर्गत १० देखि १५ जनाको १५ वटा वटा टोलीले देशका बिभिन्न भागमा वर्ल्ड रेन्बो ग्यादरिङका लागि उपर्युक्त स्थान छनौटका लागि अध्ययन तथा स्थलगत अवलोकन गरेको थियो । सोही क्रममा रामारोशन पुगेको टोलीले स्काउटिङ मिसनले वर्ल्ड रेन्बो ग्यादरिङका लागि रामारोशन छनौट गरेको हो ।

वल्र्ड रेन्बो ग्यादरिङमा संसारभरीबाट पाँच हजार भन्दा बढि रेन्बो फेमिली सदस्य भेला हुने भएकोले बिशाल समथर फाँट आवश्यक पर्ने र त्यसका लागि रामारोशन उपर्युक्त भएको स्काउटिङ मिसनको निष्कर्ष थियो । त्यही निष्कर्षपछि वर्ल्ड रेन्बो ग्यादरिङ अछामको रामारोशनमा गर्न लागिएको हो ।

के हो रेन्बो फेमिली ?

‘रेन्बो फेमिली अफ लिभिङ लाईट’ हिप्पी कल्चरको आधुनिक रुप हो । बिभिन्न पेशा र बिधामा कार्यरत संसारभरीका व्यक्तिहरु यसका सदस्य छन् । ओलम्पियनदेखि डाक्टर, ईञ्जिनियर, वकिल, प्राध्यापक लगायत बिभिन्न पेशा र बिधामा कार्यरत व्यक्तिहरु यसको सदस्य छन् । कतिपय बालबालिका र परिवारका सम्पूर्ण सदस्य सहित आएका छन् ।

उनीहरुले चन्द्रमा उदाउन शुरु भएदेखि पूर्णिमा सम्मको एक महिनाको अबधिमा वल्र्ड रेन्बो ग्यादरिङ आयोजना गर्दै आएका छन् । वल्र्ड रेन्बो ग्यादरिङ संसारभरीका रेन्बो फेमली सदस्यहरुले मनाउने महाउत्सव हो, पौडेलले भने, यो एक प्रकारको बिपश्यना र ध्यान जस्तै उत्सव हो । यसअघि सन २०१८ मा अर्घाखाँचीको बालुवाका भएको भेलामा ३२८ जना रेन्बो फेमलीका सदस्यहरु सहभागी भएका थिए ।

एक पटक वर्ल्ड रेन्बो ग्यादरिङ आयोजना गर्न पाउने देशको पालो झण्डै एक सय ५० वर्षपछि आउने पौडेल बताउछन् । उनी भन्छन्, नेपालले वर्ल्ड रेन्बो ग्यादरिङ आयोजना गर्ने अवसर यस पटक पाएको छ ।

के हुन्छ वर्ल्ड रेन्बो ग्यादरिङमा ?

वर्ल्ड रेन्बो ग्यादरिङको शुरुवातमा १० दिन सिड क्याम्प हुन्छ । जसलाई वर्ल्ड रेन्बो ग्यादरिङ पूर्वको तयारीको जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारी पाउने भोलेन्टरहरुले शौचालय, टेण्ट र आवश्यक सम्पूर्ण तयारीहरु गर्छन । वर्ल्ड रेन्बो ग्यादरिङमा कुनै पनि ईलेक्टे«क डिभाईसको प्रयोग गर्न पाईदैन । मोवाईल, साउण्ड सिष्टम प्रयोग त्यहाँ बर्जित हुन्छ । रक्सी तथा लागु पदार्थ पूर्ण रुपमा बर्जित छ ।

पौडेलका अनुसार यो पूर्ण रुपमा शाकाहारी रुपमा आयोजना गरिने भेला हो । जहाँ माछामासु पनि खान बर्जित छ । वर्ल्ड रेन्बो ग्यादरिङ संगीतमय हुन्छ । यस पटक पनि ईरानबाट १० जना कलाकारको टोली अछामको रामारोशन पुगेको छ । उनीहरुले म्युजिक सिकाउनुका साथै संगीतका माध्यमबाट मनोरञ्जन दिलाउनेछन् । त्यस्तै वर्ल्ड रेन्बो ग्यादरिङमा कला पनि प्रदर्शन गर्ने बताईएको छ ।

उनीहरु सबै चिज छोडेर एक महिनापूर्ण रुपमा अलग संसारमा उत्सव मनाउने गर्छन । जहाँ न टेलिफोन हुन्छ । न मोवाईल । न टीभी । न त सञ्चारका कुनै माध्यमहरु ।  वर्ल्ड रेन्बो ग्यादरिङमा कुनै पनि किसिमको मुद्रा चल्दैन । यहाँ सम्पूर्ण कुरा निशुल्क रुपमा उपलब्ध हुन्छ । खाना पकाउने सेफहरु पनि यसका सदस्यहरु छन् । यहाँ सबै काम आफैले गर्छन । बाहिरबाट खाना ल्याउन पाईदैन ।

पौडेल यसलाई हिप्पी हिलिङ ग्यादरिङ भन्न रुचाउछन् । यस पटक रामारोशनमा ८० भन्दा बढि देशका रेन्बो फेमली सदस्यहरु सहभागी भईरहेको पौडेलले पश्चिम टुडेलाई बताए । जसमा अमेरिकाका सबैभन्दा बढि सदस्य सहभागी छन् । रुस, युक्रेन, ईरान, नाईजेरिया, चीन लगायत संसारका अधिकांश देशका रेन्बो फेमलीका सदस्यहरु यसमा सहभागी हुदैछन् ।

यसरी संसारभरीका रेन्बो फेमलीका सदस्यहरुको हुने ग्यादरिङमा दिनमा दुई पटक खाना पाक्ने बताईएको छ । कसैलाई भोक लागे हेल्प ईन द किचेन भनेर बोलाउने गरिन्छ । र, त्यसपछि सेफहरुको समूहले खाना पकाएर सम्बन्धित व्यक्तिलाई पस्किन्छ ।

ग्यादरिङमा शान्ति सेनाका रुपमा पनि एउटा टीम सक्रिय हुने गरेको छ । त्यहाँभित्र कसैले कुनै किसिमको अवाञ्छित गतिबिधि र अशान्ति गरे त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिने तथा कुनै पनि गलत क्रियाकलाप हुन नदिने शान्ति सेना सक्रिय हुने गरेको बताईन्छ ।

ग्यादरिङको समापनपछि  ५० जनाभन्दा बढिको संख्यामा रेन्बो फेमली सदस्यहरुको समूह थप दुई हप्ता रामारोशनमा बस्ने छ । जसले त्यहाँ भएको सम्पूर्ण फोहोरको सरसफाई र व्यवस्थापन गर्ने छ ।