बन्द छ वेली स्वास्थ्य प्रवद्र्धन केन्द्रको एक्सरे र प्रयोगशाला सेवा
2023/09/27, 12:22
 
ss

 जनस्वास्थ्यलाई ख्याल गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित वेली स्वास्थ्य प्रवद्र्धन केन्द्रमा एक्सरे मेसिन जडान गरिएको छ । मेसिन जडान भएयता सञ्चालनमा रहेपनि छ महिनादेखि बन्द अवस्थामा रहेको छ । सो केन्द्रको एक्सरे मेसिनमा कार्यरत जनशक्तिलाई उपमहानगरपालिकाले वडा स्वास्थ्य क्लिनिक अभियानमा खटाउदा मेसिन बन्द गरिएको हो । 

केन्द्रको एक्सरेमात्र नभई प्रयोगशाला पनि बन्द अवस्थामा रहेको छ । त्यहाँ कार्यरत जनशक्तिहरुलाई उपमहानगरपालिकाले अन्यत्र पठाउँदा एक्सरे र प्रयोगशाला सेवा बन्द रहेको केन्द्रले जनाएको छ । निर्वाचनका समयमा नगर प्रमुख गोपाल हमालले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको थियो –‘धनगढी उपमहानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइने छ ।’ 

नगरकै अस्पतालका रुपमा स्तरबृद्धि गराइनुपर्नेमा प्रवद्र्धन केन्द्र अहिले वडाको स्वास्थ्य चौकीको काममा सिमित छ । कर्मचारी अभावले विस्तार भएका सेवाहरु बन्द गरि वडा स्वास्थ्य चौकीले प्रदान गर्दै आएका सेवामा सिमित बनेको छ ।  शहर भन्दा झण्डै सात किलो मिटर टाढामा रहेको केन्द्र दुई तले भवनमा रहेको छ । सो भवनमा एक ड्रेसिङ कक्ष, खोप कक्ष, औषधी कक्ष, प्रयोगशाला, एक्सरे र बर्थिङ्ग सेन्टर छ भने सामान्य उपचार गरिन्छ ।

अहिले बेली स्वास्थ्य शहरी प्रवद्र्धन केन्द्रमा तीन जना कार्यरत रहेका छन् । केन्द्रकी प्रमुख मञ्जु ठकुल्लाले भनिन –‘ओपिडि, परिवार नियोजन, मातृ सुरक्षा सेवा, प्रसुति सेवा, खोप लगायतका सेवाहरु प्रवाह भइरहेका छन् । एक्सरे र प्रयोगशाला बन्द छ ।’ सो केन्द्रमा एक जना चिकित्सकसहितको सेवा हुनुपर्नेमा भएको डाक्टरलाई पनि अन्यत्र पठाइएको हो । 

उनले एक्सरे र प्रयोगशाला बन्द हुँदा त्यहाँ आउने विरामी अन्यत्र जानुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन –‘प्रयोगशाला बन्द हुँदा सुत्केरी महिलाले सबैभन्दा समस्या झेल्नुपरेको छ । परिक्षण गर्न सेति प्रादेशिक अस्पताल पठाउनुपर्ने बाँध्यता रहेको छ ।’

नाम प्रवद्र्धन केन्द्र, छैन भुमिका

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले विरामी चेकजाँचसंगै स्वास्थ्य प्रवद्र्धन गराउन उद्देश्यसहित सञ्चालनमा ल्याइएको भएपनि सो अनुसारको भुमिका छैन् । २०७५ सालदेखि सञ्चालनमा आएको प्रवद्र्धन केन्द्रलाई कार्यक्रम गर्न बजेट विनियोजन नगर्दा भुमिकाविहिन बनेको हो ।

नसर्ने रोग तथा स्वस्थ जीवनशैली, मातृ, शिशु तथा बाल स्वास्थ्य, सरुवा रोगहरु, जनस्वास्थ्य निरीक्षण तथा सुपरिवेक्षण, प्रेषण सेवा, स्वस्थ वातावरण प्रवद्र्धन, ज्येष्ठ नागरिक स्वास्थ्य समस्याका लागि स्वास्थ्य, वहिरंग सेवा, महामारी नियन्त्रण तथा विपद व्यवस्थापन, आयुर्वेद तथा परम्परागत औषधी उपचार लगायतका सेवाहरु सञ्चालन गर्न सो केन्द्र स्थापना गरिएको थियो । तर, अहिलेसम्म यसतर्फ उपमहानगरपालिकाले ध्यान दिएको छैन् ।

प्रमुख ठकुल्लाका उनका अनुसार केन्द्रले गर्नुपर्ने कामहरु बजेट तथा तालिम अभावले सञ्चालन गर्न सकिएको छैन् । ‘धनगढी उपमहानगरपालिकाबाट केन्द्रमा अन्य स्वास्थ्य संस्थासरह नै बजेट विनियोजन गर्दा गर्नुपर्ने कामहरु अघि बढ्न सकेको छैनन’ उनले भनिन् ‘धनगढी उपमहानगरपालिकालाई यसबारे जानकारी दिंदा आश्वासन मात्र पाएका छौं ।’

उनले प्रवद्र्धन केन्द्रलाई भौतिक संरचनासंगै सामाग्री, तालिम पनि आवश्यक रहेको बताइन् । ‘कतिपय कामहरु सञ्चालन गर्न हामीलाई तालिमको आवश्यकता रहेको छ’ उनले भनिन् । उनले महामारी नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न तालिम नहुँदा समस्या भइरहेको बताइन् । ‘अहिले महामारी तथा विपद भने भएको छैन । तर, तालिम नहुँदा कसरी काम गर्ने भन्ने अन्यौलता छ’ उनले भनिन् । 

उनले केन्द्रमा परामर्श कक्ष, किशोर किशोरमैत्री कक्ष लगायतको अभाव रहेको बताइन् । ‘कुनै पनि विरामीलाई परामर्श दिन एउटा अलगै कक्षको आवश्यक हुन्छ तर, त्यो यहाँ छैन’ उनले भनिन । उनले केन्द्रले विद्युत समस्या, फ्रिज अभाव तथा समयमै औषधीका लागि रकम नआउनु लगायतको समस्या भोग्दै आएको बताइन् ।

‘नेपाल सरकारले बढ्दो शहरीकरण, बदलिँदो सामाजिक तथा आर्थिक परिवेशसँगै मानिसमा देखिने रोगको प्रकृति र प्रकोप पनि परिवर्तन हुँदै गएपछि प्रवद्र्धन केन्द्रको अवधारणा अघि बढाएको थियो’ उनले भनिन् ‘स्थानीय तह र अन्य कार्यालयले केन्द्रको महत्वबारे जानकारी नपाएर खासै महत्व नदिएको हुन सक्छ ।’

‘परिवर्तित जीवनशैलीसँगै जोखिमपूर्ण व्यवहारहरू जस्तै धुम्रपान, मद्यपान, असुरक्षित यौन सम्पर्क, लागू पदार्थको दुव्र्यसन जस्ता कारण मानिसहरू स्वास्थ्यको उच्च जोखिममा पर्दछ’ उनले भने ‘शहरी क्षेत्रमा रोगको बढ्दो प्रकोप, स्वास्थ्यको जोखिम र दु्रत गतिमा बढ्दै गरेको जनसंख्याको आवश्यकतालाई आधार मानेर वृहत शहरी स्वास्थ्य कार्यक्रम सञ्चालन हुन सकेको छैन । यसको असर खासगरी शहरमा वसोवास गर्ने गरीब, महिला तथा बालबालिका र सिमान्तकृत समूहमा परेको देखिन्छ जुन वर्ग स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको अवस्था छ ।’