आहा अपि हिमाल (फोटोफिचर)
2023/09/30, 6:58
 
ss

सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये पर्छ, दार्चुलाको अपी हिमाल। अपि हिमाल अपि गाउँपालिकामा नै पर्छ । यस हिमालको उचाइ ७ हजार १३२ मिटर छ । सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको अपी हिमालसम्म पुग्न दार्चुला सदरमुकामबाट ३ वटा रुट छन्। अपी हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपी बेस क्याम्पबाट आधा घण्टामा सजिलै पुग्न सकिन्छ ।

त्यसैगरी ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणबाट उपयुक्त रहेको छ । सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपी हिमालसम्म पुग्न सकिन्छ । बाटो त्रिदेशीय सीमा क्षेत्रमा पर्ने हुँदा विदेशी आरोहीहरूको प्राथमिकतामा पर्ने गरेको छैन । दोस्रो रुटका रूपमा दार्चुला सदरमुकामदेखि खार, सिप्टी र सितोला हुँदै अपी बेस क्याम्पसम्म पुगिन्छ । पर्याप्त दृश्यावलोकन र रमणीय प्रकृतिसँगै यस रुटबाट अपी बेस क्याम्पसम्म पुग्न सकिन्छ । बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा पर्दैन। पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै मकरीगाड, गुल्जर, घुसाको रुट रहेको छ । मकरीगाडबाट २ दिन दिन पैदल यात्रापछि अपी हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ । अपी हिमालसम्म पुग्न आउने पर्यटक र पर्वतारोहीहरूले प्रायः यही रुटलाई प्रयोग गर्ने गर्छन्।