हुलाकी राजमार्ग स्तरोन्नतिको कार्यले गति लियो
2023/09/30, 7:00
 
ss

कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्यले गति लिएको छ । चालु आर्थिक वर्षभित्रै बाँकी कार्य सक्ने गरी स्तरोन्नतिको कार्यलाई गति दिइएको हो । गएको आर्थिक वर्ष राजमार्ग स्तरोन्नतिको कार्य सुस्त रुपमा भएको थियो । अब मेशिनले गर्ने काममात्रै बाँकी रहेकाले निर्माण कम्पनीहरुले कामलाई गति दिएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनीयर दीपक सुनारले बताए । 

“मान्छेबाट हुने काम सकिएको छ”, उनले भने,“अब मेशिनले गर्ने काममात्रै बाँकी रहेकाले चालु आर्थिक वर्षभित्रै स्तरोन्नतिको काम सकिने अपेक्षा गरेका छौं ।” राजमार्ग स्तरोन्नतिको अवधि भने आउँदो पुससम्ममात्रै रहेको छ । तर, पुसमा काम सम्पन्न हुने सम्भावना देखिएको छैन । समयमै आवश्यक बजेट उपलब्ध भएमा चालु आर्थिक मसान्तभित्र काम पूरा हुन सक्ने जनाइएको छ । यो वर्ष कामले गति लिएको बेला बजेट कम रहेको सुनारले जानकारी दिए । 

उनका अनुसार यस वर्ष हुलाकी राजमार्ग स्तरोन्नतिका लागि संघीय सरकारले ३८र३९ करोड रुपियाँमात्रै बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष ७५ करोड रुपियाँ रहेको थियो । “यस वर्ष हुलाकी स्तरोन्नतिको काम पूरा हुन सक्दैन भने कम बजेटको कारणलेमात्रै त्यस्तो हुनेछ”, सुनारले भने । 

आर्थिक वर्ष २०७७/७८ बाट कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जसअन्तर्गत धनगढीको गुरही चौक ९क्याम्पस रोड० देखि मनेहरासम्म चार किलोमिटर खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य सकिएको छ । आगामी पुससम्म निर्माण म्याद रहेको यो खण्डमा वर्षा अगावै स्तरोन्नतिको काम सकिएको थियो । 

यसैगरी, मनेहरादेखि पूर्वमा सत्तीसम्म दुई लेनको र टीकापुरदेखि लम्कीसम्म चार लेनको हुलाकी सडक स्तरोन्नतिको कार्य जारी रहेको छ । यी खण्डहरुमा विभिन्न सात प्याकेजमा विभाजन गरेर बनाएर स्तरोन्नतिको कार्य भइहरहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०६४/६५ देखि कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु गरिएको थियो ।

सुरुमा भारत सरकारको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी राजमार्ग बनाउने काम गरेको हो । तर, सो कम्पनीले अधुरै राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेर गएपछि बाँकी रहेको सबै काम नेपाल सरकारको लगानीमा भइरहेको छ ।  यसैबीच, धनगढीको त्रिनगर भन्सार नजिक करिब एक सय मिटर क्षेत्रमा हुलाकी सडक अझै बन्न सकेको छैन ।

त्रिनगर प्रहरी कार्यालय क्षेत्रमा कालोपत्रेको काम हुन नसकेको हो । प्रहरीले बेलैमा संरचना नहटाएपछि कैलालीको पश्चिमी क्षेत्रस्थित हुलाकी राजमार्गको अन्तिम विन्दुमा काम अधुरा रहेको सूचना अधिकारी सुनारले जानकारी दिए ।  सो क्षेत्रमा निर्माण कम्पनीले गतवर्ष नै कालोपत्रेको काम गरेर सकिसकेको छ । यसैगरी, निर्माण अवधि पनि सकिएको छ । अब अर्को ठेक्का गरेरमात्रै बाँकी रहेको सय मिटरमा कालोपत्रेको काम हुने सुनारले जानकारी दिए ।