सुदूरपश्चिममा बिभिन्न मुद्धाका ९ सय ५५ फरार प्रतिवादी पक्राउ
2023/09/30, 7:07
 
ss

सुदूरपश्चिम प्रदेशमा बिभिन्न मुद्धाका ९ सय ५५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बिभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई फरार रहेका ति प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो।

यो संख्या पछिल्लो तीन वर्षको अवधिको हो । लागुऔषध ओसारपसार तथा कारोबार,चोरी तस्करी,जबरजस्ती करणी,सवारी ज्यान, बहुविवाह, डाँका तथा संगठित अपराधमा संलग्न,वन मुद्धा, हातहतियार खरखजाना लगायतका मुद्धामा फरार रहेका प्रतिवादी हुन्। आर्थिक वर्ष २०७७/७८ मा अपराधमा संलग्न रहेका २९६ जना अदालतबाट सजाय पाएका तर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

ति फरार अपराधीलाई अदालतबाट ४ सय ३७ वर्ष ४ महिना १९ दिनको सजाय तोकिएको थियो। फरार प्रतिवादीबाट आर्थिक वर्ष २०७७/७८ मा एक करोड ३३ लाख ९० हजार ९७१ रुपैयाँ जरिबाना असुल गरिएको छ। यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ सय ३१ जना फरार प्रतिवादी पक्राउ परेका थिए।पक्राउ परेका फरार प्रतिवादीलाई अदालतले २११ वर्ष ७ महिना ५ दिनको सजाय तोकेको छ। भने उनीहरूबाट तीन करोड १८ लाख ५१ हजार ६३५ रुपैयाँ जरिबाना असुल गरिएको छ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ३ सय ९८ जना फरार प्रतिवादी पक्राउ परेकामा उनीहरूलाई अदालतबाट २१५ वर्ष ४ महिना २४ दिनको सजाय तोकिएको छ। भने पक्राउ परेका फरार प्रतिवादीबाट राज्यलाई ९५ लाख ३५ हजार ६४९ रुपैयाँ जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ। विभिन्न अपराधमा संलग्न रहेका र बिभिन्न स्थानमा लुकिछिपी बसेका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ र जरिवाना गर्न थालेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले फरार अपराधीलाई समात्न र अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी थप सशक्त भएर लागेको बताए ।

उनले आफु यहाँ आएपछि पाँच विषयलाई मुख्य रुपमा कार्य सम्पादन गर्न प्रदेशमा प्रहरी संगठन र युनिट परिचालन गरिएको बताए। त्यस्तै चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को दुई महिनामा प्रहरीले थप ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूलाई अदालतबाट २३ वर्ष ९ महिना २९ दिनको सजाय तोकिएको छ। फरार व्यक्तिहरूबाट ५२ लाख १७ हजार ८७२ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

यसरी प्रदेश प्रहरी कार्यालयले जम्मा ९ सय ५५ जना पक्राउ परेका फरार प्रतिवादीबाट अदालतले पाँच करोड ९९ लाख ९६ हजार १२७ रुपैयाँ जरिबाना तोकेको जनाएको छ। लागुऔषध र तस्करी नियन्त्रण, दैनिक कार्यसम्पादन र फरार अपराधी पक्राउ गर्न प्रहरी इमानदार भएर खटिएको प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बोहराको भनाई छ। उनले निकै पुराना अपराधका घटनामा संलग्न भएर दोषी ठहरिएका व्यक्तिलाई खोजी खोजी पक्राउ गर्न सफल भएको जानकारी दिए। साथै उनले नागरिकलाई समयमै सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन दिएको र यस्मा हामी प्रयासरत रहेको बताएका छन् ।