प्रताप चौधरी, पहलमानपुर– कैलालीको पहलमानपुर–लालबोझी सडक खण्डको अवस्था रोपाई गर्न बनाएको खेत जस्तै भएको छ । धेरै वर्षसम्म मर्मत नगरिएपछि पहलमानपुर–लालबोझी सडक खण्ड हिलाम्मे भएर रोपाई गर्ने खेत जस्तै भएको हो । सडकमा साना, ठूला खाल्डा परेका छन् । बाटोमा ओहोरदोहोर गर्ने गाडी चालक देखि स्थानियहरुलाई निकै सास्ती हुदै आएको घोडाघोडी नगरपालिका ११ का प्रकाश बुढाले बताए ।
पहलमानपुर–लालबोझी सडक खण्डमा दैनिक रुपमा यातायातका साधान घण्टौसम्म फस्ने गरेका छन् । घोडाघोडी नगरपालिका १०, ११ र १२ जोड्ने यो सडक खण्डको अवस्था वेहाल हुँदा पनि मर्मत सम्भारतर्फ कसैको ध्यान जान सकेको छैन् । बाटोमा ओहोर दोहोर निकै समस्या हुने गरेको र पहलमानपुर–लालबोझी सडक खण्डमा ओहोर दोहोर गर्ने यात्रुहरुले रुनुपर्ने अवस्था रहेको वडा नम्बर ११ का स्थानीय बासी बुधराम कठरियाले बताए । सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएपछि पटक जन प्रतिनिधिलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ । बाटोको दुर्दशा वारे वडाध्यक्षलाई पटक पटक जानकारी गराउदा समेत सुनुवाई नभएको स्थानीय पहाडी लाल कुश्मीले दुखेसो पोखे ।
सर्वसाधारहरु मात्रै होईन जन प्रतिनिधिहरु पनि सडक खण्डमा आवतजावतका क्रममा लडेको बताउँछन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को कार्यालय पहलमानपुर–लालबोझी सडक खण्डमै छ । वडाध्यक्ष दानसिंह जोगीले आफु पनि सडक खण्डमा लडेको बताए । ‘पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नै छैन्,’ वडा अध्यक्ष जोगीले भने, ‘म आफैँ पनि सोही सडक खण्डमा लडेको छु ।’ उनले सडक हिलाम्य भएपछि मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन नसकेको जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर मात्रै सडक कालोपत्रे भएको छ । सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले पनि सो सडकलाई चुनावी नारा बनाएका थिए । लालबोझी–पहलमानपुर सडकका स्तरोन्नतिका लागि भन्दै उनले बजेट समेत बिनियोजन गरेका थिए तर सडकको अवस्था भने रोपाई गर्ने खेत जस्तै भएको छ ।
घोडाघोडी नगरपालिका नगरपालिकाले पहलमानपुर– लालबोझी सडक खण्डमा मर्मत गर्नको लागि कोटेसन मार्फत जेवी निर्माण सेवा पहलमानपुरलाई ५ लाखको ठेक्का दिएको छ । सडक मर्मतको काम सुरु गरेको जेवी निर्माण सेवाले जनाएको छ । लालबोझी सडकखण्डको लागि शहरी विकास मन्त्रालयले सडकको लागि ३० करोड विनियोजन गर्ने भनिएपनि अहिलेसम्म विनियोजन भएको छैन । सडक निमार्णको लागि नगरपालिकाले डिपिआर तयार गरी सहरी विकास मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई बुझाए पनि अर्थ मन्त्रालयले अहिलेसम्म प्रक्रिया अगाडी बढाएको छैन् ।