सेती अस्पतालको भवन निर्माण अधुरै छोड्ने कम्पनीलाई जरीवाना
2023/10/01, 2:20
 
ss

धनगढी स्थीत सेती प्रादेशिक अस्पताल भवन निर्माणमा हदभन्दा ढिलो गरेपछि निर्माण कम्पनीलाई जरिवाना लगाइएको छ। सेती अस्पतालको भवन पाँच पटक म्याद थपे पनि निर्माण सम्पन्न नगरेको भन्दै रविना–थेकिम जेभीलाई संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जरिवाना लगाएको हो। २०७४ कात्तिक २८ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १८ करोड ७४ लाखमा सम्झौता भएको र ६ वर्षसम्म पनि दुई तले भवन निर्माण अलपत्र पारेको आरोप छ। आयोजना कार्यालयका इन्जिनियर शौरभ कलौनीले अब निर्माण कम्पनी रविना–थेकिम जेभीले दैनिक ९३ हजार ७१४ रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको बताए।

उनका अनुसार ११ असार देखि सो जेभीले निर्माण सम्पन्न नगर्दासम्म दैनिक ठेक्का रकमको ०।०५ प्रतिशतका दरले जरिवाना तिर्नुपर्नेछ। निर्माण कम्पनीले जरिवाना नतिरेपछि अन्तिम भुक्तानी दिंँदा जरिवाना रकम कटौती गरेर भुक्तानी दिइने जानकारी दिए। अस्पतालले बेड राख्ने ठाउँ अभावमा ग्यालरीमै बेड राखेर उपचार गर्ने गरेको छ। २०३९ मा सरकारबाट ५० शैयाको अनुमति पाएको अस्पतालले निजी स्रोतबाट ७५ बेड थपी १२५ शैयाको सेवा दिइरहेको छ। यस अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारले दुई सय शैया सञ्चालनको तयारी गरिरहेको छ।

निर्माण कम्पनीले लापरबाही गरी निर्माणका लागि पेटी ठेकेदार लगाएर काम गराएका कारण पाँच पटक समय थप्दा पनि निर्माण सम्पन्न भएको नभएको बताइएको छ। निर्माण कम्पनीले भवन निर्माण सम्पन्न नगरेपछि भवन अभावमा सेती प्रादेशिक अस्पतालले अधुरो भवनबाट ओपीडी सेवा सुरु गरेको छ। निर्माण कम्पनीले अहिले सेती प्रादेशिक अस्पतालसँग लिखित रूपमा दुई महिनाको समय माग गरेको छ। तर सो निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छैन। निर्माणाधीन भवनमा भित्रबाट प्लास्टर गर्न, टायल लगाउन, झ्याल–ढोका लगाउन, बत्ती जडान गर्न र रंगरोगन गर्न बाँकी छ।

कात्तिकसम्म सक्याउने गरी अस्पतालसँग सम्झौता भई काम गरिरहेको जानकारी आएको इन्जिनियर कलौनीले बताए। सरकारीतर्फबाट विद्युतीकरणको डिजाइन बाहेकमा ढिलाइ गर्नुको अर्को कारण नभए पनि निर्माण कम्पनीले दुई गुणा बढी समय लगाएको छ। अबको दुई महिनामा समेत निर्माण कम्पनीले सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरी ठेक्का रद्द गरिने आयोजना कार्यालयको भनाई छ। अस्पताल भवन निर्माण समयमै सम्पन्न नहुँदा एमआरआई लगायतका बिभिन्न स्वास्थ्य सेवा विस्तारमा समस्या भएको छ।