सुदूरपश्चिममा एमाले प्रथम अधिवेशन तीव्र, अधिवेशनका लागि आज जिल्लामा प्रतिनिधि छनोट हुँदै
2023/10/02, 7:54
 
ss

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रथम अधिवेशनको तयारी तीव्र बनाइएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि आज प्रदेशका ९ जिल्लामा प्रतिनिधि छनोट गरिने बताइएको छ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि आज सोमबार सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा प्रतिनिधि छनोट हुँदैछन्। नेकपा एमालेको प्रथम अधिवेशन असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ८८ स्थानीय तहबाट ६ सय भन्दा बढी प्रतिनिधि चयन हुनेछन्। स्थानीय तहमा एक सय जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको छ।

जसमा ३३ प्रतिशत महिला र १० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सम्बन्धित भूगोलमै बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ। प्रदेश निर्वाचन क्षेत्रबाट भने दलित प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको छ। प्रदेश सचिव पाठकले ७५ जना पार्टी सदस्य बराबर एक जना दलित प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। मजदुर इलाका कमिटीबाट भने ५० सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चयनका लागि एमालेले सबै पालिका र निर्वाचन क्षेत्रमा सहजकर्ता परिचालन गरिसकेको छ।

सम्बन्धित क्षेत्रबाट चयन भएका प्रतिनिधिको नामावली सहजकर्ताले जिल्ला कमिटीमा पठाउनेछन् भने जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाउने सचिव पाठकले बताए। प्रतिनिधिबारे अन्तिम निर्णय प्रदेश कमिटीले गर्नेछ। एमालेमा अहिले प्रदेश कमिटीका पदाधिकारीदेखि सदस्यसम्मले प्रतिनिधि चयन भएर आउनुपर्ने व्यवस्था भएकाले सबैले ध्यान अहिले प्रतिनिधि बन्नेमै रहेको छ ।अन्य प्रदेशमा जस्तै यहाँ पनि नेतृत्व चयनमा निर्वाचन हुने सम्भावना देखिएपछि नेताहरुले आफ्नो पक्षका प्रतिनिधि छनोटकै बेला सक्रियता बढाएका छन्।

हालसम्म अछामका कृष्णप्रसाद जैसीले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। केन्द्रीय सदस्य कैलालीका झपट रावल र बाजुराका लालबहादुर थापाको नाम पनि प्रदेश अध्यक्षका रुपमा चर्चा भए पनि उनीहरुले मुख खोलिसकेका छैनन्। अहिलेका प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सेना,प्रदेश सचिवालय सदस्य बचनबहादुर सिंह लगायतका नेताहरुले पनि अध्यक्षमा आकांक्षा राखेका छन् । ‘आन्तरिक रुपमा धेरै कमरेडहरु अध्यक्षका लागि लबिङमा लागेका छन् तर कृष्ण कमरेडबाहेक अरु खुल्नुभएको छैन’,एमालेका एक नेताले भने, ‘अहिले नै आकांक्षा देखाएमा प्रतिनिधि चयनमै पछि परिन्छ कि भन्ने बुझेर पनि नखुलेका होलान् । भोलिसम्म धेरै कुरा थाहा हुन्छ ।’