सुदूरपश्चिममा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता हुनसक्ने भन्दै रोक्न निर्देशन
2023/10/02, 7:56
 
ss

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अघि बढाएको स्वास्थ्य उपकरण खरिद प्रक्रिया तत्काललाई रोक्न निर्देशन दिइएको छ। प्रदेश सभाको सामाजिक विकास समितिले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै तत्काल सो प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

समितिका सदस्य ओमविक्रम भाटले हिजो आइतबार बसेको समितिको बैठकले खरिद प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको बताए। मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएर राज्यलाई घाटा पुर्‍याउन खोजेको भन्ने उजुरी परेको र त्यसपछि तत्काल रोक्न लगाउने निर्णय गरेको उनले बताए। उनले असोज १७ गते ११ बजेभित्र सम्पूर्ण कागजात झिकाएर अध्ययन र छलफल गर्ने निर्णय समेत भएको भन्दै सो बिषयमा थप छानबिन प्रक्रिया अघि बढ्ने बताए ।

आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा। नीरज अर्याल समेतलाई समितिको बैठकमा बोलाएर खरिद प्रक्रियाबारे छलफल गर्ने तयारी गरेको छ। आपूर्ति व्यवस्थापन केन्द्र भदौ १८ र १९ गते छुट्टाछुट्टै सूचना प्रकाशित गरी उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो।

समितिको बैठकले सरकारी अस्पतालको सेवा,गुणस्तर,समस्या र समाधानका विषयमा असोज १८ गते महाकाली प्रादेशिक अस्पताल,असोज १९ गते सेती प्रादेशिक अस्पताल र असोज २१ गते टीकापुर अस्पतालमा अनुगमन र अन्तरक्रिया गर्ने निर्णय गरेको बताइएको छ। उपकरण खरिदमा राखिएका विशेषता र मापदण्ड कुनै एक कम्पनीका लागि भएको हुन सक्ने र त्यसबाट करोडौँ अनियमितता हुन सक्ने भन्दै समितिले चाँसो दिएको जनाएको छ ।