कञ्चनपुरमा एक युवतीको सामूहिक हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को आईबिआरडि।बजार बस्ने २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा चार जना युवक डेढ महिनापछि पक्राउ परेका छन।
उनिहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुस्करराज पन्तले ३० साउन २०८० बिहान आईबिआरडी बजारदेखि ‘घ’ गाँउ जाने सडक क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएकी घर्तीको सामूहिक हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए । मृत फेला परेकी लक्ष्मीको हत्या भएको भन्दै घर परिवारले प्रहरीलाई किटानी दिएको थियो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालीका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेको प्रहरी निरीक्षक पन्तले बताए । हत्या संलग्न भनिएका लालझाडीका ३० वर्षीय राजकुमार राना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। २९ साउन साँझ ५ः३० बजेतिर लक्ष्मी घरदेखि मामा घर जान्छु भन्दै हिडेकी थिईन। मामा घर जाँन्छु भन्दै घरदेखि हिडेकी लक्ष्मी भोलीपल्टै आईबीआरडी बजारदेखि घ गाउँ तर्फ जाने सडकमा मृत फेला परेकी थिईन।
शव परीक्षणका क्रममा टाउको, दाहिने कान लगायत शरीरमा चोट देखिएपछि प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान थालेको थियो । प्रहरी निरीक्षक पन्तका अनुसार अनुसन्धानका क्रममा घर्ती घरबाट निस्किएको दिन हत्या आरोपमा पक्राउ परेका युवाहरुले ललाई फकाई गरी मोटरसाइकलमा राखेर लालझाडी गाउँपालिका–१ को लालझाडी जंगलमा हात्ती हेर्न तथा बनको रेखदेख गर्नका लागि लगेको पाइएको थियो ।
त्यहाँ बनाइएको काठको टहरामा घर्तीलाई लगेर मदिरा सेवन गराएपछि राति साढे १० बजेको समयमा उक्त टहराको तेस्रो तलाबाट लक्ष्मी घर्तीलाई उनीहरुले खसाएकाले देखिएको प्रहरीको भनाई छ । टहरोबाट खसालेपछि गम्भीर घाइते भएकी घर्तीलाई बेहोस अवस्थामा मोटरसाइकलमा राखेर मृतकको माईती घर नजिकै सडक किनारमा शव फालेर पाँचै जना भागेको खुलेको प्रहरी निरीक्षक पन्तले बताए । लक्ष्मीको हत्यामा संलग्न भएका पाँच मध्ये पक्राउ परेका चार जनालाई अदालतबाट ५ दिनको म्याद थपेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका राजकुमार रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु बिरुद्धमा कर्तव्य ज्यान अन्र्तरगत मुद्दा दायर गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक एव सुचना अधिकारी पुष्करराज पन्तले उक्त घटनामा थप अनुसन्धान हुने र केही तथ्यमाथि अनुसन्धान गरिने बताए ।