गेटामा विश्वविद्यालय बनाउने विधेयकलाई सरकारको स्वीकृत, अब संसद् जाने
2023/10/03, 7:38
 
ss

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी विधेयकलाई स्वीकृत गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक स्वीकृत गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको विधेयक संसद्मा दर्ता भई छलफलपछि पारित भएपछि प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश हुने प्रावधान छ। मेडिकल कलेज बनाउन संरचना निर्माण गरिएपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने माग राख्दै आन्दोलन नै भएको थियो। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको विधेयक अब संसद्मा दर्ता हुनेछ र संसद्बाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणिकरण भएर लागू हुनेछ।

यसअघि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने माग राख्दै दबाबमूलक कार्यक्रम समेत गरिएका थिए । कैलालीको गेटामा रहनेगरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक मन्त्री परिषदवाट आज स्वीकृत भै व्यवस्थापिका सदनमा जानेवाटो खुला भएसँगै आसाहरु पलाएको स्थानिय गणेश जोशीले बताए।

चालु अधिवेशनबाट विश्वविद्यालयको विधेयक पास हुनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम र नेपाल सरकारले २०७९ माघ २९ गते गरेको निर्णय र सरकार र सांसदहरूले अहिलेसम्म दिएको आश्वासनअनुसार गेटामा विश्वविद्यालय सञ्चालन गर्न माग गरिएको छ।