कैलालीमा दुई युवतीले वीष सेवन गरी आत्महत्या गरेका छन् । हिजो दिउसो साढे १२ बजे धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ स्थित बेली जंगलमा मृत अवस्थमा फेला परेका दुबै युवतीको वीष सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार आत्महत्या गर्नेमा धनगढी उपमहानगरपालिका ७ बेली बस्ने १९ वर्षीया गोमा बिक र चुरे गाउँपालिका घर भई हाल बेलीमा दिदीको घरमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउत रहेकी छन् । राउत केही दिनदेखि गोमाको घरमा बस्दै आएकी थिईन। उनीहरु दुबै जनाबीच घनिष्ठ सम्बन्ध रहेको बताइएको छ ।
बिहान ७ बजे घरबाट निस्किएका उनीहरु वीष सेवन गरी लडेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । प्रहरी घट्नास्थल पुग्दा उनीहरुको मृत्यु भईसकेको थियो । घट्नास्थलमा सल्फास भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घट्नाका सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ।