सुदूरपश्चिममा तीन वर्षको अवधिमै ८ सय ५६ लागुऔषध प्रयोग कर्ता पक्राउ
2023/10/03, 7:54
 
ss

सुदूरपश्चिममा लागुऔषधको प्रयोग भयावह रूपमा फैलिएको तथ्यांकहरूले देखाएका छन् । तीन वर्षको अवधिमै लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या करिब तीन गुणाले बढेको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेशभरि लागुऔषधसम्बन्धी दुई सय ५३ वटा मुद्दामा तीन सय ९४ जना पक्राउ परेका थिए । गत आर्थिक वर्षमा यस सम्बन्धी पाँच सय ४० मुद्दा अदालतमा दर्ता भएका छन् भने आठ सय ५६ जना पक्राउ परेका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा लागुऔषधसम्बन्धी मुद्दामा पाँच सय ६३ जना पक्राउ पर्नुका साथै तीन सय ५३ वटा मुद्दा दर्ता भएका थिए । पक्राउ पर्नेमध्ये अधिकांश १६ देखि २० वर्ष उमेर समूहका रहेका प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए । प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता महिलाको संख्या पनि बढ्दो छ । गत वर्ष मात्र यो मुद्दामा ६६ जना महिला पक्राउ परेका थिए ।

धनगढी, टीकापुर, महेन्द्रनगरलगायत भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुरका बजारहरूमा लागुऔषध प्रयोगको अवस्था अझ बढी विकराल छ । लागुऔषध सम्बन्धी गत आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये कैलालीका मात्र तीन सय ८४ छन् । यो अवधिमा कञ्चनपुरमा एक सय ५९ मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ । कैलाली र कञ्चनपुरमा बढी भए पनि लागुऔषधसम्बन्धी मुद्दाहरू सबै जिल्लामा रहेका प्रहरीले जनाएको छ । पछिल्लो समय लागुऔषधविरुद्ध प्रहरी आक्रामक देखिएपछि कैलाली, कञ्चनपुरका सीमावर्ती बजारबाट प्रयोगकर्ता र कारोबारी दैनिकजसो पक्राउ पर्न थालेका छन् ।

प्रहरीका अनुसार प्रदेशमा सबैभन्दा बढी लागुऔषध खैरो हेरोइन ९ब्राउन सुगर० प्रयोग हुने गरेको पाइएको छ । जुन भारतबाट आयात हुन्छ । भारतसँगको खुला सिमाना लागुऔषधको प्रयोग र कारोबार रोक्न चुनौतीका रूपमा रहेको छ । चोरी, बलात्कारजस्ता आपराधिक घटना बढ्नुको मुख्य कारण लागुऔषध भएको प्रहरीको निष्कर्ष छ । चोरी, बलात्कार, हिंसा, सवारी दुर्घटनाजस्ता अधिकांश घटनाका अभियुक्त लागुऔषध प्रयोगकर्ता हुने गरेको प्रहरी उपरीक्षक चौधरीले बताए । उनले लागुऔषधको जालो भत्काउन विद्यार्थी मात्र नभई समुदायलाई सचेत गराउने कार्यक्रम पनि प्रहरीले चलाइरहेको बताए ।