सुदूरपश्चिममा २० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध
2023/10/04, 2:05
 
ss

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत जनसंख्या आवद्ध भएका छन्। नेपाल सरकारले २०७२ साल चैत २५ गतेदेखि सुदूरपश्चिम प्रदेशको कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रमको आरम्भ गरेको थियो।  प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा पाँच लाख ५१ हजार दुई सय १० नागरिकले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

बीमा बोर्डका अनुसार एक लाख ७२ हजार पाँच सय १२ अति गरिब बिमित जनसंख्या, ८६ हजार छ सय ३८ ज्येष्ठ नागरिक, सात हजार चार सय ३३ एचआईभी संक्रमित, सात हजार पाँच सय ९७ अति अशक्त अपाङ, सात सय ६२ कुष्ठरोगी ९परिवारका सदस्य समेत०, क्षयरोगी छ सय २५, महिला स्वास्थ्य स्वयमसेविका २४ हजार दुई सय पाँच गरी दुई लाख ९९ हजार सात सय ७२ जना बीमा कार्यक्रममा आबद्ध भएका छन्। 

सुदूरपश्चिम प्रदेशको कैलालीमा २०७२ चैत २५ गतेदेखि बीमा कार्यक्रमको नामावली सुरु गरिएको थियो। कैलालीबाट नै पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। २०७३ साल जेठ १ गतेदेखि स्वास्थ्य संस्थाबाट बिमितलाई सेवा प्रदान गरिएको थियोकैलालीबाट सुरु भएको बीमा कार्यक्रम अहिले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा लागू गरिएको छ। २०७६ साल फागुन २२ गते डडेल्धुरा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत नामावली दर्ता प्रक्रिया सुरु भएसँगै प्रदेशका नौ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको थियो। सबैभन्दा पहिला बीमा कार्यक्रम सुरु भएको कैलाली जिल्ला यो आठ वर्षको अवधिमा स्वास्थ्य बीमामा झण्डै ३० प्रतिशत जनसंख्या आबद्ध भएका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार कैलालीमा नौ लाख चार हजार छ सय ६६ जनसंख्या रहेकोमा दुई लाख ७६ हजार तीन सय ५६ जना बिमित रहेका छन्। प्रदेशको तराईको अर्को जिल्ला कञ्चनपुरको जनसंख्या पाँच लाख १३ हजार सात सय ५७ रहेकोमा ५७ हजार पाँच सय ३४ जना बीमामा आबद्ध भएका छन्।

दुई लाख २८ हजार आठ सय ५२ जनसंख्या रहेको अछाममा ५५ हजार एक सय ४२ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन्। राष्ट्रिय स्वास्थ्य बीमा बोर्ड, सुदूरपश्चिम प्रदेश कार्यालयले दिएको तथ्यांक अनुसार बाजुराको एक लाख ३८ हजार पाँच सय २३ जनसंख्या रहेकोमा ३४ हजार पाँच सय २९ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक वर्षपछि २०७४ साल चैत २५ गते बाजुरामा पनि बीमा कार्यक्रम शुभारम्भ गरिएको थियो।

त्यस्तै, दुई लाख चार हजार आठ सय ३१ जनसंख्या रहेको डोटीमा १४ हजार आठ सय १३ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। स्वास्थ्य बीमा गर्नेमा बैतडीमा ३७ हजार ४४ जना पुगेका छन् भने, दार्चुलामा १६ हजार छ सय ८०, बझाङमा ३९ हजार सात सय ४६ र डडेल्धुरामा १९ हजार तीन सय ६६ जना नागरिक पुगेका छन्। सुरुमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढे पनि विस्तारै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिमितहरुमध्ये नवीकरण गराउनेको संख्या भने कम रहेको छ।

बीमा बोर्डका कार्यकारी निर्देशक  दामोदर बसौलाले सुदूरपश्चिम प्रदेशमा अझैं पनि स्वास्थ्य बीमा कार्यक्रम अपेक्षा गरिए अनुसार प्रभावकारी नहुनुमा जनचेतनाको अभाव, पर्याप्त स्रोत साधनको अभाव, स्थानीय तहसँग समन्वय नहुनु, स्वास्थ्य प्रदायक संस्थाले प्रदान गर्ने सेवामा कमजोरी लगायत रहेको बताए।  उनले भने, ‘स्वास्थ्य संस्थाका जनशक्तिलाई अभिमुखिकरण, क्षमता अभिवृद्धि गर्नुका साथै बीमामैत्री सेवाका लागि जिम्मेवार बनाउन आवश्यक रहेको छ।’ बिमितहरुले आवश्यक औषधि नपाउने, चिकित्सकको राम्रोसँग राय सुझाव नपाउने लगायतका गुनासो आइरहने गरेको उनले बताए। उनले स्थानीय तहहरुले पनि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन जनस्तरबाटै जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने सुझाव दिए।

बीमा कार्यक्रम हरेक गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोर रहेका व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन लागू गरिएको थियो। उनले सेवा प्रदायक संस्थाको सेवामा सुधार नहुनु, दर्ता सहयोगीले बीमाबारे बुझाउन नसक्नु लगायतका कारण बीमा कार्यक्रममा सबै आबद्ध हुन नसकेको बताए।  प्रदेशका ३२ वटा विभिन्न स्वास्थ्य संस्थाले बिमितलाई सेवा दिइरहेको छन्। ‘राज्यले स्वास्थ्य बीमाबापत विपन्न परिवारका लागि छुट्टै प्याकेज दिने प्रयास गरेको छ। यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो’, उनले भने, ‘संविधानले पनि व्यवस्था गरेको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्क छ।’ स्वास्थ्य बीमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिरेपछि स्वास्थ्य बीमा परिचयपत्र दिइन्छ। पाँच भन्दा बढी सदस्य भएमा प्रत्येक व्यक्तिका लागि थप सात सय रुपैयाँ तिर्नुपर्छ।

अति विपन्न, अशक्त, अपांग, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग लागेका बिरामी र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा हुने प्रावधान छ। कार्यक्रमअन्तर्गत प्रतिपरिवार एक लाख रुपैयाँ बराबरको उपचार सुविधाको प्रत्याभूत गरिएको छ।

जिम्मेवार निकायनै पन्छिन्छन्ः नगर प्रमुख रावत

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले जिम्मेवार निकायहरुनै सेवा प्रदान गर्ने क्रममा पन्छिने गर्दा सरकारले ल्याएका कार्यक्रम प्रभावकारी हुन नसकेको बताए।  धनगढीमा बोर्डद्धारा आयोजना गरिएको वार्षिक समिक्षा, दर्ता सहयोगीलाई तालिम तथा मूल्यांकन सम्बन्धि आयोजना गरिएको कार्यक्रमको समुदघाटनमा नगर प्रमुख खडकाले सरकारले बनाएका कार्यक्रमको कार्यान्वयनमा कसैको ध्यान पुग्न नसकेको बताएका हुन्।

उनले भने –‘स्वास्थ्य विमा कार्यक्रमको व्यवस्थाबारे निर्देशकलेनै जानकारी नभएको प्रतिक्रिया दिए। जिम्मेवार निकाय पन्छिनुले विमाको अवस्थता पुगेको हो।’ उनले अझै पनि नागरिकले निशूल्क उपचार तथा औषधि पाउन नसकेको बताए।उनले भने –‘स्वास्थ्यमा लगानी भएको छ तर, त्यसको प्रतिफल देखिएको छैन्।’

स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र थापाले उल्टो दिसाबाट बीमाबाट सुरु भएको बताए। उनले भने–‘अन्य मुलुकमा सरकारले सबै संरचना तयार गरेपछि अनौपचारिक क्षेत्रलाई जिम्मेवारी दिइन्छ तर, यहाँ बिमा कार्यक्रम अनौपचारिक क्षेत्रबाट सुरु हुनुनै गलत भयो।’ उनले स्वास्थ्य बिमाबारे जनस्तरमा बुझाउन नसकिएको बताए।

उनले भने –‘स्वास्थ्य बिमालाई अझ प्रभावकारी बनाउन नीजि क्षेत्रलाई आवद्ध नगरि गुणस्तरिय सेवा उपलब्ध गराउन सकिदैन्।’ उनले बोर्डले बिमाको पैसा थैली बढाउने गरि छलफल गरिरहेको बताए।  स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बिमा र सेवाप्रदायक संस्थाबिच समन्वयमा कमी रहेको बताए।