सुदूरपश्चिम प्रदेश सरकारले भन्सार नाकामा स्थायी क्वारेन्टिन सञ्चालन गर्ने
2023/10/07, 1:01
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार नाकामा स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न पहल गर्ने भएको छ। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले बन्द भएको प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालयको संयुक्त निरीक्षण गरी सो विषयमा पहल गर्ने बताएका हुन् ।

त्रिनगर नाकामा रहेको दुई महिनादेखि प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालय बन्द हुँदा कृषिजन्य पदार्थ आयात निर्यात पूर्ण रूपमा ठप्प भएर प्रदेशकै व्यापार व्यवसायमा ह्रास हुनुका साथै राजस्व संकलनसमेत प्रभावित भएको छ । उद्योगमन्त्री धामीले प्रदेशकै अर्थतन्त्र चलायमान बनाउने नाकाबाट कृषि उत्पादन आयात निर्यात रोकिँदा आम उपभोक्ताले महंँगी झेल्नु परेको बताए ।

उनले यस नाकामा प्रदेश सरकारले स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेश सरकारले यो नाकामा संघीय सरकारसँग स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय माग गर्छौ,’ मन्त्री धामीले भने, ‘टुरमुकाम कार्यालय बन्द भएको कारणले धेरै व्यवसायीले समस्या झेलिरहेका छन् । त्रिनगर भन्सार नाका सुदूरपश्चिमको व्यापार व्यवसायको मूल नाका हो । त्यसो भएको हुनाले कैलाली भन्सार कार्यालयमै क्वारेन्टिनको स्थायी कार्यालयको माग गर्छौ ।

कृषिमन्त्री चौधरीले नेपाल सरकारले चलाएको क्वारेन्टिन कार्यालयमा दुई प्रकारको विषादी परीक्षण गर्ने व्यवस्था रहेको बताउँदै भारतले तेस्रो वा चौथो प्रकारको विषादी पठाउँदा त्यसको जाँच गर्न सक्ने व्यवस्था नभएको बताए । उनले कृषि मन्त्रालयले संघीय सरकारसँग सबै खाले विषादी परीक्षण गर्ने सक्ने प्रयोगशाला सहितको स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न माग गरेको बताए ।

उनले क्वारेन्टिन कार्यालय बन्द भएका कारण प्रदेशको राजस्व घटिरहेको बताउँदै छिटोभन्दा छिटो क्वारेन्टिन कार्यालय सञ्चालन गरिनुपर्ने बताए । ‘भारतबाट तरकारी, फलफूल आयात गर्नुपर्ने र नेपालमा उत्पादन भएको केही कृषि वस्तु पनि भारत पठाउनुपर्ने भएकाले क्वारेन्टिन कार्यालय बन्द हुँदा यो कार्य एकदमै चुनौतीपूर्ण छ,’ मन्त्री चौधरीले भने, ‘संघीय सरकारलाई भनेर हामीले छिट्टै सबै प्रकारका विषादी परीक्षण गर्न सक्ने गरी क्वारेन्टिन कार्यालय सञ्चालन गर्छौं ।’

उनले संघीय सरकारले नाकामा क्वारेन्टिन कार्यालय सञ्चालन गर्न नसक्ने भए प्रदेश सरकारलाई क्वारेन्टिन कार्यालय सञ्चालन गर्ने अनुमति दिनसमेत माग गरिएको बताए । उनले त्रिनगर भन्सार नाकाबाट आयात रोकिँदा नेपालगन्जबाट व्यापारीहरूले सामान ल्याउन बाध्य भएका कारण महँगी बढ्नुका साथै प्रदेशको राजस्व अर्कै प्रदेशमा गइरहेको बताए ।मन्त्रीद्वयले त्रिनगर भन्सार नाकामा रहेको पर्यटक सहायता कक्ष, नेपाल प्रहरीको बिट र सशस्त्र प्रहरीको सीमा बिटसमेत अवलोकन गरेका थिए । पर्यटनमन्त्री धामीले प्रदेशको पर्यटन भारतीय पर्यटकमा निर्भर रहेको बताउँदै पर्यटकहरूलाई भारतीय नागरिक पर्यटकको रूपमा आउँदा सहजीकरण गर्न सीमा क्षेत्रमा खटिने प्रहरी र कर्मचारीलाई आग्रह गरेका थिए ।