सुदूरपश्चिमका ७ जिल्लामा भोलिदेखि सुपथ मुल्य पसल खुल्ने, कहाँ-कहाँ हुँदैछन् सञ्चालन ?
2023/10/07, 1:11
 
ss

सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा सुपथ मुल्य पसल खोल्ने तयारी गरिएको छ। चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार तथा छठ पर्वका बेला सरकारले भोलि देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो। जस अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चाडपर्वकेन्द्रित सहुलियत  सुपथ मूल्य  पसल रहने बताइएको छ।

उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थान मार्फत सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन्। सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ। सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ।

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ। त्यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ। साथै दुग्ध विकास संस्थानले अत्तरिया र धनगढीमा सुपथ मूल्य पसलसहित एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालनमा ल्याउने तयारी छ।

सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए–नभएको विषयमा अनुगमन गर्न समिति पनि बनाइएको छ। हरेक वर्ष चाडपर्वमा हुने कालोबजारी र गुणस्तरहीन सामान बिक्री हुने आशंकामा सरकारले बजार अनुगमनलाई जोड दिँदै आएको छ।सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन गर्ने जनाएको हो।सूपथ मूल्य पसलबाट उपभोक्तालाई ७ देखि १० रुपैयाँसम्म राहत पुग्ने भएको छ।