कैलालीमा गाईको गोबरबाट धूपबत्ती र दियो बनाउन सुरुवात
2023/10/08, 12:17
 
ss

कैलालीको टीकापुर गौशालाले गाईको गोबरबाट धूपबत्ती र बत्ती बाल्ने दियो बनाउन थालेका छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धूपबत्ती बनाउन थालनी गरेको हो। टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आएका छन्। तालिमपछि धूपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ।

पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिए। “गाईको गोबर प्रयोग गरी बनाइएको धूपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ”, उनले भने, “यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ। यो धूपबत्ती बजारमा पाइने केमिकल मिसावट धुपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ।”

गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ। दीपावलीलाई लक्षित गरेर धूपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ। गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताए। “गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ”, उनले भने, “यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ। उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ।”

गौशालाले श्रीमद्‍भागवत महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उनको भनाइ छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ। यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ। केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च व्यर्होने गरेको छ।