एमाले सुदूरपश्चिम अधिवेशनः भीम रावल विरुद्ध नेताहरू एकजुट
2023/10/11, 12:32
 
ss

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण मंगलबार साँझदेखि हुने भनिएको मतदान तालिका हेरफेर भई बुधबार दिउँसोसम्मका लागि सारिएको छ।

आइतबार अधिवेशन सुरु भएदेखि प्रदेशका शीर्ष नेता कर्णबहादुर थापा र दामोदर भण्डारीको समूहमा बेग्लाबेग्लै उम्मेदवार खडा भए पनि मंगलबार साँझ दुवै समूह मिलेर साझा उम्मेदवार तय गरेको उनीहरूनिकटका कार्यकर्ताले बताएका छन् । अध्यक्ष पदमा थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैसीलाई भण्डारी समूहले समर्थन गर्ने र भण्डारी समूहले अध्यक्ष पदमा अघि सारेका कमल तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराएर अन्य पदाधिकारी भण्डारी समूहले लिने प्रारम्भिक समझदारी भएको दुवै पक्षका कार्यकर्ताहरूले बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीनिकट दुवै नेताहरू आपसमा जुध्दा त्यसको लाभ भीम रावल समर्थित प्रतिनिधिहरुले लिन सक्ने अवस्था सिर्जना हुनसक्ने देखिएपछि अध्यक्ष ओलीकै निर्देशनम यहाँ बेग्लाबेग्लै अभ्यास गरिरहेका नेताहरू रावलविरुद्ध एक ठाउँमा उभिएको रावल समर्थित एक प्रतिनिधिले बताए । ती प्रतिनिधिले भने, ‘रावलप्रति केही लचक देखिएका कर्ण थापाले अघि सारेका उम्मेदवारलाई नि मतदान गर्ने भित्री तयारी हाम्रो थियो । त्यो थाहा पाएपछि माथिबाटै भण्डारी र थापालाई मिल्न निर्देशन भएको हो ।’थापा र भण्डारी एक ठाउँमा उभिएपछि मतदान भए पनि उनीहरूले सारेकै उम्मेदवार जित्ने निश्चित छ ।

यसबीचमा दुवै समूहले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । तर समझदारी बनेपछि फिर्ता हुनुपर्ने उम्मेदवारलाई मनाउने जिम्मेवारी सम्बन्धित नेताले लिने सल्लाह भएको अर्का एक प्रतिनिधिले बताए ।यता लेखराज भट्टले अघि सारेका अध्यक्ष पदका उम्मेदवार वचनबहादुर सिंहले आफ्नो उम्मेदवार कायम रहेको बताएका छन् । आन्तरिक रुपमा नेता भट्ट सिंहलाई अध्यक्ष बनाउन नसके पनि पदाधिकारीमा अटाउन चाहन्थे ।

त्यो पनि सम्भव हुने नदेखिएपछि सिंहले थप गृहकार्यका लागि आफ्नो उम्मेदवारी कायमै राखेको अनुमान धेरैको छ ।अर्कोतिर रावल समर्थित प्रतिनिधिहरू भने आफ्नो समूहलाई निषेध गर्ने गरी अभ्यास भइरहेको भन्दै अध्यक्षको प्यानलैसहित मतदानमा जाने तयारी भइरहेको बताइरहेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका भरत साउँदले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् । मतदानको समय दिउँसो एक बजे तोकिएको छ ।