रावलका समर्थक साउँदलाई हराउन सबै नेता एक ठाउँ
2023/10/11, 12:34
 
ss

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन लम्बिदै गएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्दा अधिवेशन लम्बिर्दै गएको हो । प्रथम अधिवेशनको नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेपछि सर्वसम्मत चयन गर्ने प्रयास थालिएको भएपनि यहाँ दुई प्यानलबिच भिडन्त हुने देखिएको छ । 

समाचार तयार पारुन्जेल नेताहरुबिच सहमति हुन नसकेको जनाइएको छ । नेकपा एमालेका नेता कर्णबहादुर थापा, लेखराज भट्ट, दामोदर भण्डारी एक सहमतिमा पुगेका छन् । उनीहरुले कृष्णप्रसाद जैशीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उनीहरुको सहमतिमा सचिवमा रणबहादुर चन्दलाई बनाउने जनाइएको छ ।

 चार दिनसम्म लम्बिएको प्रदेश अधिवेशनमा केन्द्रीय नेताको प्रभाव देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि जैशीलाई उम्मेदवार बनाउन सहमत भएका छन् तर, नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलको समर्थनमा उम्मेदवारी दर्ता गरेका भरत साउद पछि हट्ने तयारीमा छैनन् । 

नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सहमतिको प्रयास जारी रहेको बताए । उनले भने –‘अन्तिम उम्मेदवारीको नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्यसै अनुसार पदाधिकारीको निर्वाचन हुने वा नहुने सो पछि थाहा हुन्छ ।’ 

एमालेमा अध्यक्षका उम्मेदवार जैशीलाई बहुमतका साथ विजयी गराउने रणनीति सहित नेताहरु लागिरहेका छन् । साउँद पछि नहटेपछि भट्टको समर्थनमा रहेका बचनबहादुर सिंह र दामोदर भण्डारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका कमलबहादुर तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराउने र जैशीलाई बहुमतका साथ विजयी गराउने तयारी स्वरुप नेताहरुमा सहमति भइरहेको छ ।

अध्यक्षमा अछाममा कृष्ण प्रसाद जैशी र सचीवमा रणबहादुर चन्दलाई सर्वसम्मत बनाउने गरि प्रारम्भिक खाका तयार गरेर नेताहरुबिच छलफल भइरहेको छ । जैशी र चन्द फरक टिमबाट चुनाबमा होमिने तयारीमा थिए । जौशीलाई स्थायी कमिटी सदस्य कर्ण थापाको समर्थन रहेको छ भने चन्दलाई प्रदेश अध्यक्ष दामोदर भण्डारीको समर्थन रहेको छ ।
प्रदेशको सचीवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बमले उम्मेदवारी दिएका थिए । बमले फिर्ता लिइसकेका छन् । 

प्रदेशको नेतृत्वका लागि भीम रावल समर्थित नेताहरुलाई अलग राखेर सहमति प्रयास भएपछि रावल अध्यक्ष पदका उम्मेदवार भरत साउद प्यानलसहित निर्वाचनमा जाने भएका हुन् । उनको प्यानलबाट उपाध्यक्षमा हजारी साउँद, सचीवमा रतन रेग्मी, उपसचीवमा नर बहादुर बिश्वकर्मा र अर्चना गहतराज प्यानसहित निर्वाचनमा जाने भएका हुन् ।
प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका व्यक्तिहरु विभिन्न किसिमले मत आफनो पक्षमा पार्ने तयारीमा छन् । एक नेताले भने –‘मतदान हुने हो । प्रतिनिधिहरुसंग आफुलाई मत दिन प्रचार गरिरहेको छु ।’