कैलाली–कञ्चनपुरका थारु गाउँबस्तीमा सखिया नाचको रौनक
2023/10/13, 9:48
 
dd

चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् । यो नाचको पैँयाले साँझपख थारु बस्ती गुल्जार बनिरहेको छ । धेरै वर्षको अन्तरालपछि आफ्नो गाउँमा पुनः सखिया नाच हुन थालेपछि हर्षोल्लास बढेको कैलारी गाउँपालिका –३ खोनपुरका सुजित चौधरीले जानकारी दिए ।

‘२०–२५ वर्षपछि गाउँमा सखिया नाच भइरहेको छ’ उनले भने ‘नाचले यो पटक गाउँ गुल्जार बनेको छ ।’ सखिया नाच दसैं – तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । यो नाच मादल र मजिराको तालमा विभिन्न तरिकाले नाचिन्छ । सखिया नाच्ने सिजनमा खेतीपातीको काम पनि हुनेगरेको छ । दिनभरी खेतमा काम गरेर थाकेका स्थानीयले साँझपख सखिया नाच हेरेर थकाइ मार्ने गरेका छन् । नाचको कारण गाउँमा रौनक थपिएको चौधरीले बताए ।

साथीसङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात् साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो । अहिले सबैजसो थारु गाउँमा राति सखिया नाच नाच्ने गरेको संस्कृतिप्रेमी सोम डेमनडौराको भनाइ छ ।