अढाई दशकपछि कैलाली–कञ्चनपुरका पुल मर्मत गरिँदै
2023/10/16, 11:18
 
ss

कैलाली र कञ्चनपुरका पक्की पुलको मर्मत गरिँदै छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण महाकाली राजमार्गअन्तर्गत कैलाली र कञ्चनपुरमा रहेका पक्की पुलको मर्मत गर्न लागिएको हो । ०५४/०५५ तिर निर्माण भएका पक्की पुलको हालसम्म पूर्ण मर्मत नहुँदा जीर्ण बन्दै गएपछि मर्मत गर्न लागिएको जनाइएको छ । पुल महाशाखा महाकाली पुल आयोजनामार्फत महेन्द्र राजमार्गअन्तर्गत १४ र महाकाली राजमार्गअन्तर्गत दुई गरी १६ पुल मर्मत हुनेछन् ।

महाकाली पुल आयोजना कार्यालयका सबइन्जिनियर दुर्गादत्त अवस्थीले सुरुमा निर्माण भएका पुल हालसम्म पनि मर्मत नहुँदा जीर्ण भई यातायात सेवा नै ठप्प हुने भएपछि मर्मत गर्न लागिएको बताए । सबइन्जिनियर अवस्थीले हिमशरण निर्माण सेवाले १६ करोड ६३ लाख १८ रुपैयाँ बजेटमा मर्मतको ठेक्का पाएको छ ।

२२ असार ०८० मा सम्झौता भई २२ चैत ०८० मा नौ महिनाभित्रै पुल मर्मत गरिसक्नुपर्ने सम्झौता भएको छ । सबइन्जिनियर अवस्थीले पानीमा रहेका पिलर, रेलिङ, पुलको भित्री तथा बाहिरी भाग कार्बन फाइबर, कार्बन लेमिनेट स्ट्रिप, एक्स्टेन्सन रिप्लेसमेन्ट, इक्सपान, इपोक्स मोटारलगायत सम्पूर्ण बिग्रिएको पुल मर्मत गरिन लागिएको बताए । ‘यसअघि पुल जोडिएको स्थानमा गाडी गुडाउँदा हल्लाउने, पानी पुलभित्र पसेर जोखिम बढाएको थियो,’ उनले भने, ‘अहिले पुलकै लेबलमा मर्मत गरिएको छ, पानी सीधै नदीमा बगाइएको छ ।’

उनले गोदाबरी र शुक्लाफाँटा नगरपालिकाले पुलमुनि फालेको फोहोर व्यवस्थापन नगरिदिँदा गोदावरी र सुनबरा नदीमा निर्माण भएका पुल मर्मतमा समस्या आएको बताए । ‘दुवै पालिकालाई पत्राचार गर्दासमेत केही सहयोग गरेनन्, हामीलाई काम गर्न समस्या भएको छ, ‘उनले भने, ‘यस्तो विकास निर्माणको काममा पालिकाले समेत हालेमालो गरिदिनुपर्छ ।’

यसका साथै नेपाल टेलिकम र एनसेल फाइबर नेटको तारले समेत निर्माण कार्यमा समस्या उत्पन्न गराएको बताए । सबइन्जिनियर अवस्थीले ०५६ अघि निर्माण भएका पुलको मुख्य मर्मत नभएको र समान्य मात्रै भएको अवस्थामा जोखिम बढाएकाले मर्मत गरिएको बताए । समयमै पुल मर्मत भएपछि यातायात आवतजावतको समस्या हल हुने र यात्रुलाई सास्ती खेप्नु नपर्ने अपेक्षा गरिएको छ ।