काठमाडौँ–धनगढीको हवाई भाडा  १७ हजार, मनपरी विरुद्ध चौतर्फी आलोचना
2023/10/16, 11:31
 
ss

सुदूरपश्चिम( काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् ।

काठमाडौँबाट दिल्लीका लागि हवाई भाडा १५ हजार ८ सय रूपैयाँ छ । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु ७ हजार नौसयबाट वृद्धि गरी रु १७ हजारभन्दा बढी पुर्‍याएको गुनासो यात्रुको छ । यो समाचार तयार पार्दासम्म श्री एयरलायन्सले काठमाडौँ–धनगढीको हवाई भाडा कात्तिक १ गते १७ हजार १ सय ३१ रूपैयाँ तोकेको छ । त्यस्तै नेपाल एयरलाइन्सले कात्तिक १ गतेको काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडा १५ हजार ८ सय ३३ रूपैयाँ तोकेको छ ।


चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।