जुवाडे खोज्दै कैलाली प्रहरी, ५४ जना पक्राउ
2023/10/28, 12:57
 
ss

कैलालीमा जुवातास नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिने स्थान पत्ता लगाउन र जुवाडे पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरेको हो।

जुवातास खेल्दा हुने हानिनोक्सानी रोक्न र सामाजिक अपराध रोक्न कैलाली प्रहरीले सक्रियता देखाएको छ। प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले साउन १६ गते धनगढीबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ भने असोज ५ गते धनगढीबाट थप सात जना जुवाडे पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले असोज २ गते ४ जना जुवाडेलाई प्रकाउ गरेको छ भने इलाका प्रहरी कार्यालय भजनीले असोज ११ गते १० जना जुवातास खेलिरहेका व्यक्तिलाई नियन्त्रण लिएको छ। त्यस्तै इलाका प्रहरी कार्यालय सुखडले असोज २४ गते १२ जना जुवाडेला पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय लम्कीले कात्तिक ६ गते १० पुरुष र १ महिला सहित ११ जना जुवाडे पक्राउ गरेको छ।

जुवातास खेलेको अभियोगमा पक्राउ परेका ५४ जना विरुद्ध प्रहरीले ६ वटा मुद्दा दर्ता गरेको छ। प्रहरीले जुवातास नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गरेर सूचना संकलन गर्दै पक्राउ गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।

‘जिल्ला प्रहरी कार्यालय कैलालीले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत जुवातास नियन्त्रण गर्न प्रहरी निगरानी बढाएको छ’, उनले भने ‘तिहारमा जुवातास अझै बढी खेलिने भएकाले यो अवधिमा थप निगरानी गर्न सादा पोसाकका प्रहरी खटाइएको छ।’ दशैं र तिहारको समयमा जुवातास खेल्ने र खेलाउने गतिविधि बढ्ने भएकाले जुवातास खेलिने स्थानको पहिचाम गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले सादा पोसाकका प्रहरी परिचालन गरेको छ।

प्रहरी पोसाकमा खटिएको अवस्थामा सूचमा संकलन गर्न सहज नहुने र जुवातास खेल्ने समूह जुवाखालबाट भाग्न सक्ने भएकाले जुवातास नियन्त्रण गर्न सादा पोसाकका प्रहरीको निगरानी महत्वपूर्ण हुने प्रवक्ता चन्दले बताए। ‘जुवातास खेल्नु र खेलाउनु सामाजिक अपराध भएकाले यसको नियन्त्रणमा प्रहरी सदैव सक्रिय रहेको छ।

खेल्ने, खेलाउने र हेर्नेलाई पनि कारबाही हुन्छ’, चन्दले भने। नेपालको विद्यमान कानुनले जुवा खेल्ने र खेलाउने तथा जुवा खेलेको हेर्नेलाई पनि दोषी करार गरेको छ। जुवातासले सम्पत्तिको नास तथा घरबार तहसनहस हुने भएकाले जुवातास नियन्त्रण गर्न जिल्लाभर थप प्रहरी निगरानी बढाइने प्रहरीले जनाएको छ।