बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थाले
2023/10/29, 12:51
 
ss

बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् । गत असोज १३ गते गएको भूकम्पले घर चर्किएपछि त्रिपालको बास गर्दै आएको खप्तड छेडे दह गाउँपालिका – ५ डोगडीका पदम सार्कीले बताए । उनले भने, “ गाउँमा चिसो बढ्दै गएपछि बाहिर त्रिपाल मुनी बस्न नसकेपछि फेरि पुन चर्किएकै घरमा आएर बसोबास गर्न थालेको छु ।”

भूकम्पले घर चिरा चिरा भयो । भत्किने डरमा बाहिर त्रिपालमा बसेको थिए । घर बासको व्यवस्थापन हुन्छ कि भनेर दुई महिना सम्म बाहिर बसियो । कतैबाट व्यवस्थापन नभएपछि अहिले फेरि चर्किएकै घरमा आएर बसेको सार्कीले बताए । भूकम्पबाट प्रभावितले घर बासको व्यवस्थापन खरिदिनका लागि जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी संस्था सँग माग राख्दै आएका छन् । बर्खामा त्रिपालको बास गर्दै आएका बाजुराका भूकम्प पीडितलाई हिउँदको चिसोमा कहाँ गएर बास बस्ने निकै चिन्ता छ ।

बर्खा तातो हुने भएकोले,त्रिपालमै बसेर गुजारा चलायौ । अब हिउँद लाग्यो गाउँमा चिसो बढ्दै गयो । यो चिसोमा बाहिर त्रिपालमा छोरा छोरीलाई कसरी बसाल्ने भन्ने चिन्ता परेको बूढी गङ्गा –१० तिमाडाका नरु सार्कीले बताएं । उनले भने, “असोज १३ गते आएको भूकम्पले घर भत्किएपछि बाहिर त्रिपाल हालेर बसोबास गर्दै आएकी छु । अहिले सम्म घर बासको कतैबाट व्यवस्थापन भएको छैन ।” गत वर्ष माघ १० गते आएको भूकम्पले चर्किएको घर असोज १३ गते गएको भूकम्पले भत्किएपछि अहिले घरबार विहीन भएको सार्कीले बताए ।

बाजुराका अधिकांश स्थानीयहरूको घर भूकम्पले भत्काएपछि उनीहरूलाई अहिले गाँस , बास र कपासको समस्या हुँदै गएको छ । भूकम्प पीडितलाई खान त के राम्रो सँग बस्नलाई समेत कतैबाट व्यवस्था भएको छैन ।  जिल्ला स्थित केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले वितरण गरेको चामल, दाल , नुन तेल लगायतका केही खाद्यान्न सामाग्रीले उनीहरूलाई केही छाक टार्न सहज भए पनि हिउँदको चिसोमा त्रिपालमुनि कसरी रात काट्ने भन्ने चिन्ता लागेको भूकम्प पीडित बताउँछन् । 

हिमाली , गौमुल , बडी मालिका , त्रिवेणी र बुढी गङ्गा लगायतका झन्डै सयौँ भन्दा बढी घरपरिवार यती बेला भूकम्पबाट निकै प्रभावित भएका छन् । स्थानीय प्रदेश र सङ्घीय सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अहिले सम्म सुरक्षित ठाउँमा बसाल्न नसकेको भूकम्प पीडितले गुनासो गर्दै आएका छन् ।