दशैं सकिएसंगै धमाधम कर्मथलो फर्कदै
2023/10/31, 9:59
 
ss

हिन्दुहरुको महान पर्व विजया दशमी सकिएसंगै कार्यस्थलमा फर्कने बढेका छन् । दशैंको टीका थाप्न गाउँ गएका कर्मचारी तथा रोजगारदाताहरु कार्यस्थल फर्केका हुन् । दशैं सकिएसंगै सुनसान बनेको प्रदेशका सदरमुकामहरुमा चहलपहल बढेको जनाइएको छ । प्रदेशको सबैभन्दा ठुलो शहर कैलालीको धनगढीमा फर्कने क्रम बढेसंगै चहल पहल बढेको छ ।

अहिले कैलालीबाट काठमाडौं जाने तथा प्रदेशका पहाडि जिल्लाबाट धनगढी आउने बसहरुको आवतजावत बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाबाट धनगढी आउदै गरेका गोबिन्द मिश्रले गाउँघरमा आफन्तहरुसँग भेटघाट गरी कर्मथलो फर्केको बताए । उनले भने—‘सुरुमा त धनगढी आउने सवारी साधन पाउनै मुस्किल छ । यदी पाईहालियो भने पनि एकदमै भिड हुन्छ । अन्य दिनहरुको जस्तो गाउँघर जाँदा आउँदाको भन्दा यो यात्रा बेग्लै भयो किनकी म आएको बसमा यात्रुहरु भरीभराउ भएकाले यात्रामा खासै सहज महशुस भएन ।’ 

दार्चुलाको सदरमुकाम खलंगा र दोस्रो ठुलो बजार गोकुलेश्वरबाट पनि धनगढी आउने बसहरुमा यात्रुहरु बढी हुँदा महेन्द्रनगर र काठमाण्डौँको बसमा चढेर समेत धनगढी आउन लागेका यात्रु भरत सामन्त बताए । उभिएरै लामो यात्रा गर्नुपर्ने बाध्यता आएको डोटीबाट धनगढी आउँदै गरेका यात्रु शिबेन्द्र बिकले बताए । पहाडबाट तराई आउँने बसहरुमा सिट पाउनै मुस्किल भईरहेको उनको गुनासो थियो ।

आवश्यकत्ता अनुसार लामो दुरीको यातायातका सवारी साधनको संख्या कम भएकाले तराई फर्किने यात्रुहरुको संख्या बढेकाले यात्रुहरुले बढी भाडा तिरेर भएपनि आउनु पर्ने बाध्यता रहेको यात्रु निर्मला रावलले बताईन् । पहाडी जिल्लाहरु डोटी, डडेल्धुरा, अछाम, बझाड, बाजुरा, बैतडी र दार्चुलाबाट आउने यात्रुहरुको चप निकै बढिरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट पढाईको सिलसिलामा धनगढी आएकाहरु दशै दिपावलीको बिदामा घरमै रहेका बिद्यार्थीहरु नियमित बिद्यालय खुलेपछि शहरी क्षेत्रमा जनसंख्या ह्वात्तै बढ्ने गरेको छ । पहाडी जिल्लाहरुबाट तराई आउने सवारी साधन तथा यात्रुहरुकों चाप निकै बढेको यातायात व्यवसायीहरुले बताएका छन् । दशै मनाउन गाउँघर तथा जन्मथलो गएकाहरु धनगढी फर्किने क्रम जारी छ ।