संघियतापछि चलायमान बन्दै कैलालीका सदरमुकाम
2023/10/31, 10:01
 
ss

कैलालीको कैलारी गाउँपालिकाको मुख्य बजार हो हसुलिया । जनयुद्धकालपछि सुनसान बनेको गाउँपालिकाको मुख्य बजार पुरानो लयमै फर्कन लागेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात जननिर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेपछि गाउँपालिकाको स्वरुपमा सुधार आएको हो ।
 

भारतीय बजारमा परनिर्भर रहेका गाउँपालिकाका स्थानियहरु अहिले माग अनुसारका सामाग्री आफनै क्षेत्रमा पाइरहेका छन् । ‘जनयुद्धकालमा माओवादीको गाउँपालिकाको मुख्य बजार भनेको हसुलियामा राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा आक्रमण पछि बन्द थियो । अहिले सोही भवनलाई गाउँपालिकाले सभाहल बनाएको छ’ गाउँपालिकाका प्रमुख राजसमझ चौधरीले भने –‘स्थानीय तहको निर्वाचनपश्चात गाउँपालिकाका बजारमा लगानी बढेको छ । यहाँ नीजि अस्पताल, बैंक, साना तथा ठुला होटलसंगै कृषि क्षेत्रमा मानिसहरु लगानी गरिरहेका छन् ।’

साविकको हसुलिया, पबेरा, बसौटी, गदरिया, रतरपुर र केहि वडा उदासिपुर ९३, ४, ६, ९० गाउँ विकास समिति समाबेस भई कैलारी गाँउपालिकालाई एकै स्थान गाभिएको थियो । हाल सो गाँउपालिकामा नौ वटा वडाहरु रहेका छन् । गाउँपालिका अध्यक्ष राजसमझ भन्छन –‘विगतमा दैनिक उपभोग्य सामाग्री लिन पनि मोहना नदी पार गरेर भारत तथा धनगढीका बजारको भर पर्नुपर्ने अवस्था थियो । स्थानीय तहको निर्वाचनपछि दैनिक उपभोग्य बस्तु सहज रुपमा मानिसले यही पाइरहेका छन् ।’

गाउँपालिकामा एनआइसी, महालक्ष्मी विकास बैंक, नवजिवन सहकारी संस्था लगायतका निजी बैंकहरु सञ्चालनमा आएका छन् । गाउँपालिकामा कैलारी अस्पताल र मिरार अस्पताल प्रालि लगायतका नीजि अस्पतालसंगै औषधि पसल, नीजि क्लिनिकहरु पनि सञ्चालनमा रहेका छन् । इन्टरनेट, विद्युत, सडक तथा खानेपानी लगायतको समस्यामा रहेको गाउँपालिकामा स्थानीय तहको निर्वाचनपश्चात सबै वडामा सहज पहुँचको व्यवस्था रहेको जनाइएको छ । गाउँपालिका अध्यक्ष राजसमझ भन्छन् –‘अहिले गाउँपालिकामा इन्टरनेट, खानेपानी, विद्युत, सडक लगायतको व्यवस्थामा स्थानीय तहको प्राथमिकता रहेको छ ।’

स्थानीय तहको निर्वाचनअघि कैलालीको गोदावरी नगरपालिकामा अस्पताल, निजी बैंक, उद्योगको लगानी आकर्षण कम थियो । संघियतापछि नगरपालिकामा अहिले गोदावरी अस्पताल लगायतका निजी अस्पताल, क्लिनिकसंगै नीजि बैंकहरुका शाखाहरु स्थापना भएका छन् । नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले भन्छन –‘स्थानिय तहको निर्वाचनपछि नगरपालिकामा लगानी बढेको छ । जनताका आधारभुत मागसंगै नगरपालिकाभित्र उद्योग, होटल तथा अन्य क्षेत्रमा लगानी बढेको छ । संघियताले आम नागरिकलाई सहज पनि बनाएको छ ।’

कैलालीको गोदावरी, कैलारीमात्र नभइ जनयुद्वअघि जिल्लाका मुख्य बजार मानिएका सदरमुकामहरुमा चहलपहल बढेको छ । भजनी नगरपालिकाको मुख्य बजारमा अहिले नीजि अस्पताल, बैंक, होटलहरु सञ्चालन भएको नगरपालिकाका नगर प्रमुख केबलबहादुर चौधरीले बताए । उनले भने –‘नगरपालिकामा नीजि क्षेत्रको लगानी बढेको भएपनि नगरपालिकालाई व्यवस्थित गर्नतर्फ स्थानीय तह लागिरहेको छ ।’

‘जनयुद्वका कारण यहाँका मानिस भारत पलायन भए । अहिले स्वदेश फर्केका मानिस यही कृषि तथा तरकारी खेतिसंगै नीजि व्यवसाय गर्न लागिरहेका छन्’ कैलारी गाउँपालिकाका स्थानीय रामबहादुर चौधरीले भने –‘माओवादीको त्रासका कारण विस्थापीत भएको बजार संघियतापछि चलायमान भएको हो ।’ उनले अहिले दैनिक उपभोग्य सामाग्री खरिद गर्न भारत तथा धनगढी जानुपर्ने बाँध्यता हटेको बताए ।

सामान्य विरामी हुँदा धनगढी आउनुपर्ने अवस्था रहेको स्मरण गर्दै गोदावरी नगरपालिकाका भीमबहदुर विष्टले भने –‘अहिले यही नीजि अस्पताल रहेको छ । सामान्य विरामी हुँदा त्यही चेकजाँच गर्छौ । जटिल भए अस्पतालकै सुझावका आधारमा धनगढी वा नेपालगञ्ज लगायत अन्यत्र जाने गर्छौ । अहिले विगतको तुलनामा खर्च घटेको छ ।’

संघियतापछि कैलालीका स्थानीय तहमा रहेका आधारभुत स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा बनाउन स्थानीय तहको प्राथमिकता रहेको छ । कैलालीको लम्की चुहा नगरपालिकाले संघ, प्रदेश तथा लम्कीकै लगानीमा स्थानीय तहमा अस्पताल सञ्चालन ल्याएको छ । नगर प्रमुख शुशिला शाहीले भनिन –‘संघियतापछि आम नागरिकलाई सेवा लिन सहज भएको छ । स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य, शिक्षा, कृषिलाई राखिएको छ । यहाँ अहिले उद्योग, होटल लगायतमा लगानीकर्ताको आकर्षण बढेको छ ।’