सुदूरपश्चिम प्रदेश सभाको एकसहित प्रदेशमा पाँच जनप्रतिनिधिको पद रिक्त, उपचुनाव वैशाख अघि नहुने
2023/10/31, 10:17
 
ss

सुदूरपश्चिम प्रदेश सभा सदस्यको एकसहित प्रदेशमा पाँच जनप्रतिनिधिको पद रिक्त छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश तथा स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा पाँच पद रिक्त भएका हुन्।

 


निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी थालेपनी तीनै तहका रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि यो वर्ष उपनिर्वाचन हुने सम्भावना कम भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको भन्दै उपनिर्वाचन आगामी चैत वैशाखतिर मात्रै हुने सम्भावना रहेको बताए। प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचन भने वैशाख अघि नहुने भएको हो।

प्रतिनिधि सभा तर्फ इलाम २ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङ र बझाङ प्रतिनिधि सभा एकको प्रदेश सभा एकबाट निर्वाचित सांसद एवम सुदूरपश्चिम सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानूनमन्त्री स्व पृथ्वी बहादुर सिंहको निधनपछि उक्त निर्वाचन क्षेत्र रिक्त छ। प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वी बहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा निधन भएको थियो। उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको २०७९ पुस २३ मा निधन भएको थियो।


उक्त पदसमेत रिक्त रहेको छ। नेपाली काँग्रेसबाट निर्वाचित भएका उनी जिल्ला समन्वय समिति कैलालीका प्रमुख थिए। यस्तै डोटीको पूर्वाचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गत वर्ष मंसिरमा निधन भएको थियो। काँग्रेसबाट निर्वाचित भएका उनको स्थानको पद रिक्त छ। बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बोहराको गत जेठ २५ गते निधनपछि उक्त पद रिक्त छ। उनी एमालेबाट विजयी भएका थिए। उता दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

गत मंसिरमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन सरकारले गत वैशाखमै गरेको थियो। भने, प्रतिनिधि सभा, प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्ने तयारी गरेकोमा तर यो सम्भव नहुने देखीएको हो। माघको दोस्रो साता राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुँदैछ। नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ।

यस्तै, संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यहि कानूनी व्यवस्था रहेको छ । आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलकाअनुसार अधिकांश पद निर्वाचित व्यक्तिको निधन भएका कारण रिक्त भएको भए पनि कतिपय पद अन्य कारणले पनि रिक्त भएका हुन् । त्यसको तथ्यांक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरिएको भए पनि मन्त्रालयले सबै विवरण उपलब्ध नगराएका कारण आयोगको प्रारम्भिक विवरणबाट यस्तो तथ्यांक आएको उनले बताए ।

अन्य प्रदेशमा कहाँ छन् रिक्त पद ?
काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि डेंगुका कारण निधन भएकाले रिक्त छ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, उदयपुरको त्रियुवा नगरपालिकाको वडा नम्बर १२, रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ६, काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर दुई, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्षको पद रिक्त छ । यस्तै, गण्डकीमा गोरखाको गोरखा नगरपालिका वडा नम्बर पाँच, लुम्बिनीमा गुल्मीको मुसिकोट गाउँपालिका वडा नम्बर एक, रोल्पाको रुन्टिगढी गाउपालिका वडा नम्बर चार,बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर चार वडा अध्यक्ष रिक्त भएको आयोगले जनाएको छ।

आयोगका अनुसार कर्णाली प्रदेशमा कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर चार, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर सात, निर्वाचन आयोगका अनुसार दुई वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको पद पनि रिक्त भएको छ । जसमा कर्णाली प्रदेशमा दैलेखको महाबु गाउपाँलिकाका अध्यक्ष लक्षुमन गुरुङको सात महिना अघि २०७९ माघ २७ गते हृदयघातबाट निधन भएको थियो। गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको करिव नौ महिनामा उनको निधन भएको हो । विगत सात महिनादेखि गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। यस्तै, बागमती प्रदेशमा दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको पनि हृदयघातका कारण निधन भएको थियो । उपाध्यक्षको पाँच वर्षे कार्यकालमध्ये एक वर्ष कार्यकाल पूरा गरे लगत्तै गत असार ३१ गते उपचारका क्रममा निधन भएको हो।