गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ ।
बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।
सार्की, लुहार, विक र सुनारका पुरानादेखि नयाँ पुस्ताले समेत नेपाली, गन्धर्व, वादीका हातको पानीसमेत नखाने गरेको बुढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीले बताउनुभयो । उनले भने, “विवाह र अन्य चाडपर्वमा नेपालीलाई बाजा बजाउन बोलाउने तर सार्वजनिक मठमन्दिर तथा निजी घरभित्र अझै उनीहरूले नेपाली परिवारलाई विभेद गर्दै आएका छन् ।”
कथित उपल्लो दलित जातिका अधिकांश धामीझाँक्री नेपाली र वादीको घर जान्छन् तर आफ्नो घरमा जाँदा शरीरमा पानी छिटा हालेर छोइछिटो गरेर मात्र प्रवेश गर्छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । सहरको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत अझै व्यापक छ ।
कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । बाजुराका नौ वटै स्थानीय निकायमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका दलित बसोबास गर्दै आएका छन् । यी सबै जाति दलितमा सूचीकृत छन् र राज्यले यी सबै दलित समुदायका लागि कोटा आरक्षण गरेको छ ।
गैरदलितले दलितमाथि गर्दै आएको जातीय विभेद अन्त्य गर्न लाग्नुको साटो उल्टै दलितले दलितमाथि यस्तो विभेद गर्नु कानुनी रूपमा गलत भएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा हरि नेपालीले बताए। उनले भने, “राज्यले हामी सबैलाई दलित भनेर सूचीकृृत गरेको छ तर हामीमा पनि एक जातले अर्को जातलाई विभेद गर्नु भनेको छुवाछुत प्रथालाई अपनाउँदै जानु हो ।” यहाँका उपल्लो जातिको मठमन्दिर तथा घरमा दलितले प्रवेश गर्न पाउँदैनन् । त्यसै गरी दलितमा पनि नेपाली, दमाई, वादीले सार्की, विक र सुनारको मठमिन्दर तथा घरमा प्रवेश गर्न पाउँदैनन् ।
नेपालको संविधानले पनि छुवाछुत तथा भेदभावविरुद्धको हक व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थलमा कुनै प्रकारको भेवभाव वा छुवाछुत गर्न नपाइने उल्लेख छ । तर पनि बाजुराका विभिन्न गाउँबस्तीमा निजी तथा सार्वजनिक स्थलमा समेत जातीय विभेद तीव्र रूपमा हुने गरेको पाइन्छ ।
दलितमाथि भएको जुनसुकै विभेद अन्त्य गर्न त्रिवेणी नगरपालिकाले यस वर्ष झन्डै पाँच लाख रुपियाँ विनियोजन गरेको त्रिवेणी नगरपालिका लेखा समिति संयोजक गगनजङ्ग बुढाले बताए । जिल्लामा व्यापक रूपमा रहँदै गएको जातीय विभेद अन्त्य गर्नुभन्दा पहिला दलितले दलितलाई गर्दै आएको विभेद अन्त्य गर्न लागिपरेको त्रिवेणी नगरपालिका नगरस्तरीय दलित नेटर्वक अध्यक्ष वीरबहादुर विकले बताए ।