कैलाली, कञ्चनपुर र डडेल्धुरामा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु
2023/11/01, 12:56
 
ss

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा मंगलबार भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाका अनुसार कैलाली कञ्चनपुर र डडेल्धुरामा भएको सवारी दुर्घटनामा पनि तीन जनाको मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका–६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । गए राति करिब ९ बजे मोटरसाइकल दुर्घटनामा भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका उपचारको क्रममा राति नै मृत्यु भएको प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ।

त्यस्तै डडेल्धुरा आलिताल गाउँपालिका १ बनखेत सडक खण्डमा भात्काडाबाट बुडर तर्फ गइरहेको मोटरसाइकल दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ । दार्चुला मालिकार्जुन ४ बस्ने अन्दाजी ५४ वर्षको शम्भुसिंह धामीले चलाएको भारतीय नम्बरको मोटरसाइकल सडकमा पल्टिएको र विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किँदा धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा गम्भीर घाइते भएका धामीलाई उपचारको लागि धनगढी ल्याइएको थियो।

उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तै कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा पनि एक जनाको सडक दुर्घटनामा पनि मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग स्थित शुक्लाफाँटा नगरपालिकामा ५ का रमेश पालले चलाइरहेको साइकललाई भारत २ चम्पावत बस्ने रोहित अग्रवाल सवार मोटरसाइकलले ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट साइकल केही नभएको तर, मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा गम्भीर घाइते भएका अग्रवालको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।