विभिन्न निकायबाट राहत संकलन गरि एकद्धार प्रणालीबाट सुर्खेत पठाउने कैलाली प्रशासनको निर्णय
2023/11/06, 5:28
 
ss

कैलाली जिल्ला प्रशासनले जिल्लामा संकलन भएको राहत एकद्धार प्रणालीबाट जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेत मार्फत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा संकलन भएका राहत सामाग्रीलाई व्यवस्थित गराउन एकद्धार प्रणालीमार्फत सुर्खेत पठाउने निर्णय गरेको हो ।

बैठकले भुकम्पका कारण क्षति भएको क्षेत्रका लागि जिल्लामा राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको सूचना अधिकारी शिवराज जोशीले बताए । उनले भने –‘कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पमा परी प्रभावित भएका भुकम्प पीडितहरुलाई उपलब्ध गराउने गरी राहत संकलन गर्न स्थानीय तह, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, होटल व्यवसायी संघ, विभिन्न संघसंस्था लगायत सम्बद्ध सबै सरोकारवालाई अनुरोध गरी नेपाल रेडक्रस सोसाइटी धनगढी मार्फत राहत संकलनको अभियान संचालन गर्ने निर्णय भएको छ ।’

उनले भुकम्पमा परी प्रभावित भएका भुकम्प पीडितहरुलाई सहयोगार्थ जिल्ला स्थित सबै राष्ट्रसेवक कर्मचारीबाट एक दिन बराबरको तलब उपलब्ध गराउन निर्णय भएको बताए । यसका साथै जाजरकोट र रुकुमपश्चिमा गएको भुकम्पबाट भएको क्षतिलाई दृष्टिगत गरी यस जिल्लामा पनि भुकम्प जानसक्ने विषयलाई आंकलन गरीएको बताउँदै ‘सोबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने विषयमा र पूर्वतयारीका विषयमा आ–आफ्नो स्थानीय तहका संचारका माध्यमबाट सचेतनामूलक सन्देश संप्रेषण गर्न सबै स्थानीय तह र सम्बद्ध निकायहरुलाई अनुरोध गरिने भएको छ ।’

बैठकले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थान र विभिन्न मितिमा घटेका विपद्का घटनाहरु ९बाढी, आगलागी र चट्याङ० बाट प्रभावित भएका दुई घर परिवारलाई राहत रकम पचास हजार र विपद्बाट मृत्यु भएका मृतकका नजिकका हकदारहरुलाई जनही २ लाखका दरले चार जनालाई वितरण गरिएको जनाइएको छ । यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा मौसम परिवर्तन संगै शीत लहर, जाडो लगायतका अन्य कारणबाट आउने विपदको हालको अवस्था एवं विपदवाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न विगतका बैठकमा भएका निर्णयहरु र आगामी दिनमा गर्नु पर्ने कार्यहरुको सम्बन्धमा विश्लेषणात्मक समिक्षा गरेको जनाइएको छ ।