डडेल्धुरामा सडक क्षेत्रमा पर्ने घर भत्काउन सुरु
2023/11/06, 5:32
 
ss

डडेल्धुरा सदरमुकाममा सडक क्षेत्रमा पर्ने घर भत्काउन सुरु गरिएको छ । अमरगढी नगरपालिकाले डोजर प्रयोग गरेर सोमबार देखि सडक क्षेत्रमा पर्ने संरचना हटाउन थालेको हो ।

डडेल्धुरा सदरमुकाममा सडक बिस्तारका लागि मुआब्जा आएर पनि घर नभत्काइएपछि नगरपालिकाले डोजर चलाएको अमरगढी नगरपालिकाको – ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले बताए । डडेल्धुरामा सडक बिस्तारका लागि सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको मुआब्जा वितरण भइसकेको छ ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ ।

बजार क्षेत्रमा ५ मिटर चौडा रहेको सडकलाई बिस्तार गरेर हाल ३० मिटर कायम गरिएको छ । सडक क्षेत्रका संरचना हटाउन वडा कार्यालय र नगरपालिकाले कार्तिक १३ गते सात दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरेका थियो ।