कैलाली अदालतमा मोबाइल चोरी, गोलीसहित कटुवा पेस्तोल गायब
2023/11/07, 1:31
 
ss

कैलाली जिल्ला अदालतमा आईतबार मध्यराति चोरी भएको छ। कैलाली जिल्लाअदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार अदालतको अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको हो।‘पछाडीतर्फको ग्रिल फोडेर चोरी भएको छ। चोरको पहिचान खुलेको छैन,’ अनुसन्धान गरेर चोरको खोजी गरिरहेका छौँ डीएसपी चन्दले भने।’

कैलाली जिल्ला अदालतले मिसिल पनि चोरी भएको हुनसक्ने आशंकामा सम्पूर्ण शाखामा रिपोर्ट माग गरेको छ। ‘सम्पूर्ण शाखाबाट प्राप्त रिपोर्ट रुजु गरेपछि मात्रै मिसिल अवस्था पत्ता लाग्ने भएकाले रिपोर्ट मगाएको श्रेस्तेदार मानबहादुर बिष्टले बताए। अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति अनाधिकृत रुपमा प्रवेश गरेको भिडिओ कैद भएको छ। सो फुटेज प्रहरीले अनुसन्धानका लागि लगेको छ।

मध्यराति भएको चोरीको घटना अर्को दिन कार्यालय खुल्दा मात्रै बाहिरिएको थियो। कार्यालय खुल्दा कर्मचारीहरुले चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।