अमरगढी नगरपालिकामा डम्पीङ साईट विवादः युवाहरुले दिएको ‘डेडलाइन’ सकियो, फोहर फाले कारवाही गर्ने
2023/11/07, 1:32
 
dd

डडेल्धुराको अमरगढी नगरपालिकाले मालमवासीसँग फोहोर व्यवस्थापन गर्न भन्दै मागेको तीन महिना सकिएको छ। आफ्नो घरजाने सडक छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले साउन २२ गते आन्दोलित बनेका थिए। उनीहरुले बसपार्कबाट जुलुस निकालेर नगरपालिकानै घेरेपछि फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच दुई बुँदे सहमति भएको थियो।

अमरगढी नगरपालिका र मालमबासी मिले, यस्तो भयो सहमति

सहमतिअनुसार फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन गर्ने भनिएको थियो।

त्यस्तै हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी उक्त फोहोरका कारण आसपासका क्षेत्रका बासिन्दालाई थप नहुने र तीन महिनाभित्र नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन गर्ने दुवै पक्षबीच सहमति भएको थियो।

तर, नगरपालिकाले दिएको म्याद सकिँदा पनि कुनै पहल नभएकाले मालमवासीले नगरपालिका, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। हिजो सोमबार पत्र बुझाउँदै उनीहरुले सहमति अनुसार भोलिबाट उक्त स्थानमा फोहोर फाल्न बन्द नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

‘कार्तिक २२ गते सम्मका लागि मात्र वनभोज क्षेत्रमा फोहोर फाल्ने र २३ गतेदेखि अमरगढी नगरपालिकाले वैकल्पिक व्यवस्था वा त्यस क्षेत्रमा फोहोर फाल्न रोकी अन्य ठाउंमा फोहोर स्थान्तरण गर्ने सहमति बमोजिम आजका मितिदेखि ३ दिनभित्र सो ठाउँको फोहोरको बारेमा वैकल्पिक व्यवस्थापन गर्नका लागि अमरगढी १ वासी तथा फोहोर प्रभावित क्षेत्रका बासिन्दाको अगुवाईमा तत्काल नै सर्वपक्षिय सहमतिको अक्षररस पालना गनुपर्ने देखिएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागि यो पत्र पेश गरिरहेका छौं’ उनीहरुले बुझाएको पत्रमा भनिएको छ, ‘पत्रमा उल्लेखित तपशिलका बुँदाहरुको कार्यान्वयन नभएमा हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछु र यसबाट पर्ने असरको जिम्मेवारी सहमति कार्यान्वयन गर्ने पक्षले लिनुपर्नेछ।’

फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ।

नगरपालिकाले जमिन खरिद प्रक्रियामा रहेकाले ढिला भएको जनाएको छ । नगर प्रमुख दिलीराज जोशीका अनुसार कार्यपालिकाले नै निर्णय जमिन खरिद प्रक्रिया सुरु गरिएको छ । जग्गा दान कसैले नगर्ने देखिएको जग्गा किन्ने निर्णय गरेको हो। अब जग्गा खरिद गरे लग्तै डम्पीङ साईट आधुनिक तरिकाका बनाउने उनले बताए।