सुदूरपश्चिममा साढे ३ महिनामै सवारी दुर्घटनाबाट ४९ जनाले ज्यान गुमाए
2023/11/07, 1:38
 
ss

सुदुरपश्चिम प्रदेशमा आफै अनियन्त्रित भएर हुने दुर्घटना बढेको पाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार आफै अनियन्त्रित भएर भएका दुर्घटनामा साढे ३ महिनामै २७ जनाले ज्यान गुमाएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयले तयार पारेको तथ्याकं अनुसार साउन यता २७ जनाले गाडी अनियन्त्रित भएर भएको दुर्घटनामा परी ज्यान गुमाएका छन्, भने ९९ जना घाइते भएका छन् । कार्तिक १५ गतेसम्मको तथ्याकंमा सो घटना उल्लेख छ ।

यस्तै दुई वा दुई भन्दा बढी सवारी साधनको ठक्करबाट ८ जनाको मृत्यु र १४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरिक्षक अनिल उप्रेतीका अनुसार अन्य कारणबाट ७ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् ।
जिल्लागत तथ्याकं हेर्दा सबैभन्दा बढी कैलालीमा दुर्घटना भएका छन् । कैलालीमा ६२ सवारी दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका छन्, भने ७१ जना घाइते भएका छन् । यस्तै कञ्चनपुरमा १६ सवारी दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन भने, २२ जना घाइते भएका छन् । डडेल्धुरामा ४ सवारी साधन दुर्घटनामा परेका छन्, भने ५ जनाले ज्यान गुमाएका छन्, २ जना घाइते भएका छन् । यस्तै डोटीमा भएका ५ सवारी साधन दुर्घटनामा परी ७ जनाको मृत्यु र २६ जना घाइते भएका छन् । बैतडीमा भएका २ दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन्, छाममा भएका ३ दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन्, २९ जना घाइते भएका छन् ।

दार्चुलामा उस आर्थिक बर्षमा १ सवारी साधन दुर्घटना भएको छ सो दुर्घटनामा परी १ जनाले ज्यान गुमाएका छन् । यस्तै बझाङमा भएको १ दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरीका अनुसार बाजुरामा भएको १ दुर्घटनामा परी १ जनाले ज्यान गुमाएका छन्, भने १ जना घाइते भएका छन् । प्रहरी नायब उपरिक्षक अनिल उप्रेतीका अनुसार यस आर्थिक बर्षमा जम्मा ९५ सवारी साधन दुर्घटना हुँदा ४९ जनाले ज्यान गुमाएका छन्, भने १ सय ६५ जना घाइते भएका छन् ।

यस आर्थिक बर्षको तथ्याकं हेर्दा सबैभन्दा बढी कैलालीमा दुर्घटना भएका छन् । प्रहरी नायब उपरिक्षक उप्रेतीले सबैभन्दा बढी अनियन्त्रित भएरै दुर्घटना भएकाले माधक पदार्थ सेवन र तिब्र गतीका कारण सो दुर्घटना बढेको बताए । अब ट्राफिक प्रहरीले गती नियन्त्रणलाई कडाइका साथ पालना गर्ने उनले बताए ।